Logo

बूढीगण्डकीको बजेट घट्यो



गोरखा, १२ असार । सरकारले बूढीगण्डकी आयोजनाको बजेट झन्डै आधा घटाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा बाँकी मुआब्जा वितरण र आयोजनाको मोडालिटी निर्माणका लागि जम्मा आठ अर्ब ८४ करोड रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा १३ अर्ब ५७ करोड ५६ लाख रुपियाँ छुट्याइएको थियो ।

आयोजनाको मोडालिटी निर्माण गर्ने भनेर सरकारले यस वर्ष आठ अर्ब रुपियाँ छुट्याएको छ, बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले भन्नुभयो, “यसले घर, गोठ, बोटबिरुवाको मुआब्जा वितरणसमेत गर्ने हाम्रो योजना छ । ” तर त्यसको मुआब्जा निर्धारण बाँकी रहेकाले रकम पर्याप्त हुने÷नहुने यकिन नभएको उहाँले बताउनुभयो । उक्त मुआब्जा वितरणका लागि १० अर्ब रुपियाँभन्दा बढी रकम आवश्यक हुने विज्ञहरूको दाबी छ ।

जग्गाको मुआब्जा त अब अन्तिम चरणमा पुगेको छ । केही नमिलेका जमिन बाँकी छन् । त्यसलाई पुग्ने पैसा हामीसँगै छ, कार्कीले भन्नुभयो, “आयोजनाको काम अघि बढाउन पैसा अभाव हुँदैन । कोरोनाको सङ्कटले कस्तो रूप लिन्छ त्यसमा चाहिँ निर्भर रहन सक्छ । ”

यता प्रभावितले भने सरकारले बूढीगण्डकी आयोजनालाई कम महŒव दिएको गुनासो गरेका छन् । जसका कारण बर्सेनि बजेट घट्दै गइरहेको उनीहरूको दाबी छ । गेम चेन्जर १० आयोजनाको सूचीमा बूढीगण्डकी आयोजना अटाउन सकेन, बूढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले भन्नुभयो, “जसका कारण बर्सेनि बजेट घट्दै गइरहेको छ । हामी प्रभावित निराश भएका छौँ । ”

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा पहिलो वर्ष पाँच अर्ब ३३ करोड, दोस्रो वर्षमा १८ अर्ब र चालू आर्थिक वर्षमा १३ अर्ब ५७ करोड रकम विनियोजन गरेको थियो तर चालू आर्थिक वर्षमा करिब पाँच अर्ब रुपियाँ मात्र खर्च भएको स्रोतको दाबी छ । देशमा कोरोनाको सङ्कट बढेपछि आयोजनामा खर्च नहुने रकम सबै सरकारले फिर्ता लगिसकेको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्