काठमाडौं, असार १२ । कोरोना भाइरसपछि सहकारीले पर्यटन क्षेत्रका विभिन्न परियोजना सञ्चालन गर्ने भएका छन्। कोरोनाका कारण पर्यटन क्षेत्र धराशायी भइरहेको अवस्थामा सहकारीले भने विशिष्टीकृत सहकारी संघमार्फत पर्यटन क्षेत्रमा ठूलो स्केलमा लगानी गर्ने तयारी गरेका हुन्।
सरकारले बचत तथा ऋणलाई निरुत्साहित गर्दै उत्पादन तथा सेवामूलक क्षेत्रमा जान अभिप्रेरित गरेसँगै पछिल्लो समय सहकारी पर्यटन क्षेत्रमा आकर्षित भएका छन्। सहकारी ऐन २०७४ ले समेत बहुउद्देश्यीय वा विषयगत सहकारीले विशिष्टीकृत सहकारी संघ गठन गरी पर्यटन उद्योग, जलविद्युत् आयोजना, रासायानिक मल कारखाना, आवासीय परियोजना, यातायात, भारी कृषक उपकरण क्षेत्रमा लगानी गर्ने अवसर दिएको छ। त्यस्तै फलफूल प्रशोधन, जडिबुटी प्रशोधन, चिनी उद्योग, शीत भण्डार, अस्पताललगायत सञ्चालन गर्न पाउने प्रावधान छ। कोरियालगायत विभिन्न मुलुकका सहकारीले पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याएका छन्।
बाग्मती प्रदेश सहकारी संघका संयोजक रामशरण शर्मा घिमिरेले पूर्णरूपमा व्यावसायिक संस्था हुनेगरी उक्त संघमार्फत पर्यटन क्षेत्रमा लगानी गर्ने योजना बनेको बताए। पर्यटन क्षेत्रका विविध आयाममा सेवा दिनेगरी विशिष्टीकृत सहकारी संघमार्फत पर्यटन क्षेत्रमा लगानी गर्न गृहकार्य सुरु भइसकेको उनको भनाइ छ। कोरोना भाइरस ९कोभिड १९० ले पर्यटन क्षेत्र पूर्णतया प्रभावित भए पनि सहज हुनासाथ पर्यटन क्षेत्रमा सहकारीको लगानी बढ्ने उनले बताए। २५ भन्दा बढी सहकारी मिलेर आवश्यक पुँजी संकलन गरी परियोजना सञ्चालन गर्न सकिने ऐनमा प्रावधान रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।