Logo

प्रधानमन्त्री बैठकमा नआउने र चित्त बुझ्दो जवाफ पनि नदिने हो भने सरकारी भवनमा बैठक राखेर पार्टीको बद्नाम नगरौः रावल



काठमाडौं, असार १४ । सत्तारुढ नेकपाले पार्टीका बैठक सरकारी भवन बालुवाटारमा राखेर चरम दुरुपयोग गरेको भन्दै चौतर्फि आलोचना भइरहेका बेला पार्टीका नेता एवं नेकपा स्थायी कमिटीका सदस्य भिम रावलले प्रधानमन्त्रीकै कारण पार्टीका बैठक बालुवाटारमा गर्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बालुवाटारमा बैठक राख्ने तर बैठकमा प्रधानमन्त्री नै नआउने भए त्यसको अर्थ नहुने उनको भनाइछ । पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता रावलले आफुहरुले पटक पटक पार्टी कार्यलय धुम्बाराहीमा पार्टीका बैठक राख्न आग्रह गर्दा पनि प्रधानमन्त्रीको सचिवालयले बालुवाटारको सरकारी भवनमा बैठक राखेर पार्टीको बद्नाम गराएको बताएका हुन्।

सरकारी निवास बालुवाटारमा बैठक राख्नु गलत भएको भन्दै उनले प्रधानमन्त्रीको स्वास्थ्यका कारण केहि समय बालुवाटारमै गरौँ भनेर भनिएको तर, प्रधानमन्त्रीनै वैठकमा नआउने भएपछि यसको कुनै अर्थ नभएको दावी गरे।

नेता रावलले स्थायी कमिटीको बैठकमा नेताहरुले प्रधानमन्त्रीको ओलोचना गरेको नभई विधि र पद्धतीबाट चल्न दवाव दिएको धारणा राखे । उनले भने, ‘हामीले प्रधानमन्त्रीको आलोचना गर्न योजना बनाएका छैनौँ । उहाँलेनै पार्टी र सरकारलाई विधि र पद्धतीभन्दा बाहिरबाट चलाउने योजनाबद्ध काम गर्नुभएको छ ।’

पार्टीका नेताहरुले पटक पटक बैठक बोलाउन माग गर्दा बैठक नबोलाउने र बेलाएपनि उपस्थित नहुने प्रबृति प्रधानमन्त्रीमा बढेको दावीगर्दै रावलले राष्ट्रलाई हितमा राखेर पार्टी र जनताको हितमा काम नगर्दा पार्टी कम्जोर बन्दै गएकाले प्रधानमन्त्रीले बैठकमा आएर यसको जवाफ दिनुपर्ने बताए । बैठकमा पनि नआउने र चित्त बुझ्दो जवाफ पनि नदिने हो भने त्यसले कस्तो परिस्थिति निम्त्याउँछ भन्ने कुराको परिकल्पना गर्न नसकिने उनको भनाइछ ।

रावलले भने,‘प्रधानमन्त्री वैठकमा आउनुपर्यो । आफ्ना भनाई राख्नुपर्यो । आउनुभएन भन्ने कुराको परिकल्पना गर्न सकिदैन । स्वास्थ्यको कारणले कसैले काम गर्न सक्दैन भने त्यो विषयमा उसले प्रस्ट पार्नुपर्छ ।”

विज्ञले प्रमाणित नगरेको जन्तर लगाएर पार्टीलाई बद्नाम गराउने काम भएको बताउदै उनले एमसीसी के गर्ने भनेर छलफल गर्न डाकिएको बैठकमा त्यही बारे पर्याप्त छलफल नभएको टिप्पणी गरे ।

उनले देश र जनताप्रति समर्पित जननेता मदन भण्डारीलाई षडयन्त्रकारीहरुले दुर्घटनामा पारेर मारेको दावीगर्दै यो हत्याको छानविन गर्न विभिन्न समिति र आयोगहरु बने पनि पछिल्लो समयमा यो विषय अगाडी जान नसकेको र अहिलेको सरकारले यस विषयमा के गरिरहेको छ भन्नु कुरा आफुलाई जानकारी नभएको बताउनुभयो । हत्याका एक जना साँक्षी अमर लामाको पनि रहस्यमय ढंगले हत्या हुदा घटना थप रहस्यमय भएको रावलको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्