Logo

निगमद्वारा जहाजमै ‘इनफ्लाइट आइसोलेसन जोन’ व्यवस्था



काठमाडौँ १६ असार : नेपाल वायु सेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका जहाजमा कोभिडका सम्भावित सङ्क्रमितलाई मध्यनजर गरी जहाजभित्रै ‘इनफ्लाइट आइसोलेसन जोन’ व्यवस्था गरेको छ । निगमको अन्तर्राष्ट्रिय उडानका सबै चार जहाजमा यो सुविधा छ ।
जहाजको पछाडिको छ सिटलाई आइसोलेसन बनाइएको छ । जहाज उडेको केही अवधिमा यात्रुमा कुनै लक्षण देखिएमा आइसोलेसनमा राखेर रेखदेख गरिने गरेको छ । यद्यपि अहिलेसम्म जहाजमा कुनै त्यस्ता सङ्क्रमित फेला नगरेको निगमले जनाएको छ ।

बन्दाबन्दीको अवधिमा निगमले ५८ चार्टर्ड उडान गरेको छ । यो यात्रु चार्टर्ड र कार्गोसहितको सङ्ख्या हो । यी उडानमध्ये नौ कार्गोसहित २९ चार्टर्ड उडान हुन् भने बाँकी २९ उडान विभिन्न मुलुकबाट अलपत्र नेपालीको उद्धारका लागि गरिएका उडान भएको निगमले जनाएको छ । यो अवधिमा निगमका जहाजले मात्रै एक लाख ८४ हजार १८७ कार्गो नेपालबाट बाहिर पठाएको छ भने एक लाख ९३ हजार ९२७ कार्गो भित्र्याएको छ ।

बन्दाबन्दीको परिस्थितिमा निगमले आफ्नो उडान गन्तब्य विस्तार गर्दै १४ नयाँ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । यो निगमको उडान सेवाका लागि सुखद अवसर हो । निगमले यो बीचमा चीनको बेइजिङ, अष्ट्रेलियाको सिड्नी, मेलबर्न, व्रिश्वेन, माल्दिभ्स, साउदी अरेबिया, बहराइन, कुवेतलगायत गन्तब्यमा उडान गरेको निगमको अपरेशन विभागले जनाएको छ ।

निगमले सामान्य अवस्थामा भारतका तीनसहित विभिन्न देशका नौ गन्तब्यमा उडान गर्दै आएको छ । निगमले अन्तर्राष्ट्रियतर्फ दुई वाइड बडी र दुई न्यारोबडी जहाजले उडान भर्दै आएको छ ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot