Logo

ओली-दाहालबीच खुलस्त छलफल, भोलि भेट्ने



काठमाडौं, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको विवाद समाधानको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्वाद सुरु भएको छ । असार १० गतेबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकको पहिलो दिनमै अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि विवाद चुलिएको हो । अध्यक्ष दाहालसहित बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको पहिलो दिनमै ओलीको कार्यशैली ठिक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । पहिलो बैठकबाटै चिढिएका ओली त्यसपछिका बैठकमा खासै बसेका छैनन् ।

स्थायी कमिटी बैठक जारी रहेकै अवस्थामा ओलीले आफूलाई हटाउनको लागि भारत खुलेर लागेको र उक्त खेलमा आफ्नै पार्टीका नेताहरुपनि सक्रिय रहेको दाबी गरेका थिए । ओलीको उक्त अभिव्यक्तिलाई लिएर चौतर्फी टिकाटिप्पणी र आलोचना भैरहेका छन् । उनको अभिव्यक्तिले नेपालको सार्वभौमसत्तासम्पन्न संसदमाथि पनि अपमान भएको कतिपयको टिप्पणी छ । ओलीको दाबीलाई लिएर अर्का अध्यक्ष दाहाल निकै आक्रोशित बने । उनले बैठकमै ओलीको राजीनामा भारतले नभई आफूले मागेको स्पष्ट पारिदिए । यसअघिपनि आफूले नै मागेको र अहिलेपनि आफूले मागेको दाहालको भनाई थियो ।

उनले दुई दिन त बैठक नै बहिष्कार गरिदिए । स्थायी कमिटीका ३० सदस्यसहित दाहाल-नेपाल समूहको बुधबारको भेलाले पनि ओलीलाई राजीनामा दिन बाध्य पार्ने निश्कर्ष निकालेपछि ओली झनै चिढिएका थिए । हिजो (बिहीबार) को स्थायी कमिटी बैठक त सुरुमै प्रभावित बनेको थियो । बैठक सुरु भैरहेको अवस्थामै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राखेर संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिश गरिदिए । त्यसपछि स्थायी कमिटीको बैठक प्रभावित बनेको हो । बैठक रोकेर अध्यक्ष दाहालले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै भेटेका थिए । दुवै जनासँगको भेटमा दाहालले दल विभाजनसम्बन्धी पूनः अध्यादेश ल्याउनको लागि संसदको अधिवेशन अन्त्य गरिएको त होईन ? भन्ने जिज्ञासा राखेका थिए । तर, राष्ट्रपति भण्डारीले आफूकहाँ त्यस्तो कुनै प्रस्ताव नआएको विश्वास दिलाएकी थिईन् ।

प्रधानमन्त्री र राष्टपतिसँगको भेटपछि पूनः स्थायी कमिटीको बैठक १५ मिनेट बसेर पार्टी संकटको मोडमा पुगेको जनाउँदै आज एक दिन सहमतिको लागि प्रयत्न गर्ने र हुँदै नभए यही स्थायी कमिटीको बैठकले अप्रिय निर्णय लिनुपर्ने अवस्थापनि आउनसक्नेतर्फ दाहालले सदस्यहरुलाई स्पष्ट पारेका थिए । आज अपरान्ह अध्यक्षद्धय ओली र दाहालबीच छलफल भएको थियो । दुई अध्यक्षले नेताहरु विष्णु पौडेल र जनार्दन शर्मासहित छलफल गरेको र उनीहरुबीच खुल्लाखुलस्त छलफल भएको जनाईएको छ ।

पार्टीभित्रको विवाद समाधानको लागि ठोस सहमति नबनेपनि आजको छलफलले अध्यक्षद्धयबीच कायम गर्न मद्दत पुग्ने नेताहरुको विश्वास छ । दुवै समूहले अध्यक्षद्धय मिलेर अघि बढ्नुको विकल्प नभएको निश्कर्ष निकालेका छन् । यसको लागि दुवै समूहका दोस्रो तहका नेताहरुले आज विहानै छलफल गरेका थिए । स्थायी कमिटी बैठक भोलि विहान ११ बजेलाई तय गरिएको छ। र, त्यो भन्दा अघिनै दुई अध्यक्ष पूनः छलफलमा बस्ने सहमति भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot