Logo

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री



काठमाडौं, असार २० । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र क्षमतामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

पछिल्ला दिनमा नेपालमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार मात्रै ७ सय ४० संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो हो ।

तर, मन्त्री ढकालले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म पनि कोरोना रोकथाम र व्यवस्थापनका सन्दर्भमा दीर्घकालीन योजना नबनाएको पाइएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि मन्त्रालयले निर्देशिकाबाहेक दीर्घकालीन ठोस योजना बनाउन सकेको छैन ।

स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना ल्याइए पनि स्वास्थ्य मन्त्रालयले पूर्णतः कार्यान्वयनमा ल्याउन सकेन । स्वास्थ्यमन्त्री ढकालले कोरोना रोकथाम र व्यवस्थापन गर्ने सन्दर्भमा गरेका अधिकांश बाचा कागजमै सीमित भएका छन् । उनले संक्रमितको व्यवस्थापन र रोकथामका सन्दर्भमा प्राविधिक तवरबाट ठोस कदम चाल्न नसक्दा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मुख्यतः क्वारेन्टिन व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गति तीव्र रूपमा अघि बढाउन स्वास्थ्य मन्त्रालय चुक्दै आएको छ ।

आफैंले दिएका निर्देशनलाई पनि स्वास्थ्यमन्त्री ढकालले तल्लो तहसम्म कार्यान्वयनमा लग्न सकेका छैनन् । मन्त्री ढकालले संसद् बैठकमै १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गर्न सकिने बताएका थिए । तर, १५ असारयता दैनिक ४ हजार ६ सय ३४ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्