Logo

नेपालमा कोरोना संक्रमितको घट्दो दर, मृतकमध्ये अधिकांश दीर्घरोगी



काठमाडौं, २८ असार । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या घट्दै गएको छ । पछिल्लो केही दिनयता एक सयभन्दा कम संख्यामा कोरोना संक्रमित पत्ता लागेका छन् ।

एकै दिन झण्डै आठ सयको हाराहारीमा संक्रमित थपिएको रेकर्ड रहेकोमा केही दिनयता संक्रमित संख्या दुई सयभन्दा कम हुँदै हिजो र आज एक सयभन्दा कम संख्या देखिएको हो । आज ८२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमित संख्या घट्दै गएको छ । कुल संक्रमित १६ हजार आठ सय एक पुगेकोमा ८ हजार ५ सय ८९ जना निको भई डिस्चार्ज भएका छन् । ५१.१ प्रतिशत डिस्चार्ज भइसकेका छन् ।

डा. पाण्डेका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरु ३८ जना पुगेकोमा अधिकांश दीर्घरोगी छन् । २४ जना मृतकमा दम, क्यान्सर, मृगौला, कलेजोो दीर्घरोगी र लामो समययता रक्सी पिउनेहरु पनि रहेको जानकारी दिए । अधिकांश मृतक ५० वर्ष कटेकाहरु छन् ।

संक्रमितहरुमध्ये अधिकांश ८० प्रतिशत पुरुष छन् । संक्रमितहरु धेरैजसो विदेशबाट फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्