एजेन्सी, १५ असार । भारतमा कँग्रेस आईमा प्रभावशाली नेताहरुले धमाधम पार्टी छाड्न थालेका छन् । मध्य प्रदेशमा ज्योतिरादित्य सिन्धियाले कँग्रेस आई छाड्दा कँग्रेस आई नेतृत्वको राज्य सरकार नै ढल्यो । सिन्धिया भारतीय जनता पार्टीमा जोडिएका छन् ।
पछिल्लो समय राजस्थानका प्रभावशाली नेता सचिन पाइलटले विद्रोह गरेका छन् । उनलाई उपमुख्यमन्त्री र कँग्रेस आईको राजस्थान युटिनको प्रमुखबाट समेत हटाइएको छ । पाइलटले विद्रोह गरेपछि राजस्थानमा कँग्रेस आई नेतृत्वको सरकार डगमगाइसकेको छ ।
तर, रोचक पक्ष यो छ कि सिन्धिया र पाइलट दुवै राहुल गान्धीका विश्वासपात्रहरु थिए । गान्धीले सबैभन्दा बढी उनीहरुलाई नै साथ दिए । कँग्रेस आईका नेता मणिशंकर अयेरले आज इन्डियन एक्सप्रेसमा लेखमार्फत् जसलाई राहुलले बढी माया गरे उनीहरुले नै पहिले धोका दिएको टिप्पणी गरेका छन् । जसलाई कम विश्वास गरे र माया गरे उनीहरुले नै अहिलेसम्म साथ दिइरहेको लेखेका छन् ।
सिन्धियाको पहुँच यतिसम्म थियो कि उनी जुनसुकै समय राहुल गान्धीको घरमा प्रवेश पाउँथे । गान्धीको घर सिन्धियाको जस्तै थियो । तर, दुवैले राहुललाई धोका दिए ।
कुनैबेला कँग्रेस आईको अध्यक्ष बनिसकेका राहुल भारतको भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएका थिए । तर, नरेन्द्र मोदी प्रभावशाली भएलगत्तै राहुललाई धक्का पुग्यो । दुईवटा लोकसभा चुनावमा कँग्रेस आई नराम्ररी पराजित हुन पुग्यो । राहुल कँग्रेस आईको नेतृत्व छाड्न वाध्य भए ।
राहुलको नेतृत्वमा कँग्रेस आई कमजोर हुनु र उनका विश्वासपात्रहरुले समेत धमाधम पार्टी छाड्नुले अब उक्त दलको नेतृत्वमा अर्को नाममा ध्यान जान थालेको छ । त्यो हो प्रियंका गान्धी । राहुलकी बहिनी प्रियंका राजनीतिमा सक्रिय भइसकेकी छिन् । उनलाई इन्दिरा गान्धीसँग तुलना गर्न थालिएको छ । कँग्रेस आईभित्र प्रियंकालाई नेतृत्वमा बढाउनुपर्ने आवाजहरु बलियो हुँदै गएको छ ।-Photo Source: Agency