Logo

आज घण्टाकर्ण पर्व मनाइँदै



काठमाडौं साउन ४ । साउन कृष्ण चतुर्दशीका दिन आइतबार चौबाटोको एक छेउमा नर्कटको घण्टाकर्णको प्रतीक बनाएर घण्टाकर्ण (गठेमङ्गल) पर्व मनाइँदै छ । कानमा घण्ट झुन्ड्याएर भगवान् शिवबाहेक अरूको बखान सुन्न नचाहने राक्षसलाई यसै दिन धर्तीमा विचरण गर्न अनुमति दिइएकाले यो पर्व मनाउने गरिएको हो ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गका अनुसार छ्वालीले बाँधेर उभ्याइएको नर्कटको त्रिखुट्टी सहितको भयंकरको यो प्रतीक चौबाटोमा यसै दिन मात्र देख्न पाइन्छ । साँझपख यसलाई बालेर खेतबारीको बीचमा राख्दा धानको बालामा लाग्ने कीरा मारेर धानमा लाग्ने रोग हटाउने भएकाले त्यतिबेला यस प्रकारको उपचारात्मक क्रियाकलाप भएको उहाँ बताउनुहुन्छ ।

राजधानीको वसन्तपुर नजिकै सिद्धिचरण चोकस्थित दफ्तर क्लबका अध्यक्ष राकेश शाहीका अनुसार नरदेवी, यङ्गाल, ओमबहाल, क्षेत्रपाटी, कालधारा, ठमेल, ज्याठा लगायतका मध्य र भित्री सहरका चोकमा अझै पनि उत्साह साथ यो पर्व मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot