Logo

मध्यरातमा पुरै परिवारै बगायो



आगिन्चोक, ७ साउन । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ६ आगिन्चोकस्थित देउराली काफलपानी गाउँका मिलन खाँड र उनको परिवार सोमबार बेलुकासँगै खाना खाएर सुतेका थिए। संगै खाना खाएका मिलनका बुवा कान्छाबहादुर खाँण पनि छोरा बुहारीसँगै खाना खाएर घर भन्दा १ सय मिटर परको गोठमा सुत्न गएका थिए।

भोलि बिहानको कामधामको सरसल्लाह गरेर गोठमा सुत्न गएका कान्छा बहादुरको छोरा बुहारी र नातिनातिनासंगको त्यही भेट नै पहिरोले अन्तिम बनाइदियो। मध्य रातमा घरमाथिबाट आएको पहिरोले उनको घरसहित छोरा बुहारी र नातिनीलाई बगादियो।

भूकम्पको राहतमा अलिअलि थपथाप गरेर कान्छा बहादुले बलियो ठाउँ छानेर घर बनाएका थिए। तर पनि दुई दिनदेखिको अविरल वर्षापछि आएको पहिरोको एकै झड्काले घरको निशाना नै मेटाइदियो। त्यत्तिमात्र होइन कान्छाबहादुरको वंश नै विनाश गरिदियो। भूकम्प पछि बनाएको राहतको घरमा छोराबुहारी बस्ने गरेका थिए भने कान्छा बहादुर खाना खाएर सधै गोठमै गएर सुत्ने गरेका थिए।

अविरल वर्षापछि पहिरोले आफ्नै घर बगाउला भन्ने कान्छा बहादुरलाई अलिकति पनि लागेको भए सायद छोरा, बुहारी र नातिनिलाई पनि गोठमै लैैजान्थे होला। तर अफसोच सोच्दै नसोचेको पहिरो खसेर कान्छा बहादुरले छोरा बुहारी र अवोध नातिनी गुमाए। स्थानीय उद्धारकर्ता राजन बुर्लाकोटीले भने, ‘सधै गोठमा सुत्न जाने गरेकोले उहाँ जोगिनुभयो तर आफ्नो परिवार भने सबै गुमाउनुभयो।’

छोरा बुहारीको परिवार नै सखाप भएपछि कान्छाबहादुर विक्षिप्त छन्। आफन्त र छरछिमेकीले सान्त्वना दिइरहे पनि अघिल्लो साँझ संगै काखमा राखेर खाना खाएकी नातिनी र छोरा बुहारी सम्झेर कान्छाबहादुर बेहोसी जस्ता भएका समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ । File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot