Logo

वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम घट्यो



काठमाडौं, ७ साउन । देशभर वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम केही घटेको छ । नदीहरुको हालको अवस्था खतराको सतहभन्दा तल नै रहेको छ ।

लगातारको वर्षाले हिजोसम्म नदीहरुको बहाव खतराको तह पार गरेको थियो । धेरै स्थानमा जनधनको क्षति भएको थियो ।

आज विहानबाट मौसममा केही सुधार भई देशका धेरै स्थानमा घाम पनि लागेको थियो । तर, विभिन्न स्थानमा वर्षा पनि भयो ।

नेपाल बाढी सुचना केन्द्रका अनुसार आज विहानको मापनमा देशका ठुला तथा साना नदीको बहाव सतर्कता तहभन्दा तलै छ ।

कोशी, नारायणी र यसका सहायक नदीमा बहाव घट्दै गएको छ । ती नदीहरुमा बहाव सतर्कता भन्दा केही मात्र तल हुने या सतर्कता आसपास नै हुनेछ ।

आज कन्काई, कमला, बागमतीका केही सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, धनुषा, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, काभ्रेलगायतका जिल्लाका नदी र खोलामा आकस्मिक बहावको न्युन सम्भावना रहेको केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot