काठमाडौं, साउन ८ । मुलुकभर मंगलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ ।
अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले विहिबार देशका केही भागमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ र प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको हुने छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव घट्ने र सतर्कता तलै हुने, आगामी तीन दिन प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम समेत घटेको जनाइएको छ ।
विभागले कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा बहाव घट्दो हुने तर कन्काई, कमला र वाग्मतीको केही सहायक नदीमा आकस्मिक बहाव आउनसक्ने भएकाले सचेत रहन भने आग्रह गरिएको छ ।