Logo

ओली–देउवा भेटले कोको सशंकित ?



साउन ९, काठमाण्डौ । सत्तारूढ नेकपाभित्रको शक्ति संघर्ष सतहमा आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बिहिवार पुन भेटवार्ता भयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मंगलवारदेखि भेटघाट नगरेका प्रधानमन्त्री ओलीले बिपक्षी दलका नेतासँगको भेटघाटलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

सत्तारुढ दल नेकपा भित्र बिगत केही महिनादेखि अविश्वासको संकट पैदा भईरहेको छ । कहिले प्रधानमन्त्री केपी ओलीको विवादीत अभिब्यक्ति, कहिले अध्यादेश लगायतका विषयले नेकपाभित्रै रडाको मच्चीरहेको छ । यही बिचमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मंसिरमा महाधिबेशन गरेर पार्टीको एकल अध्यक्ष दिने पासा फाले । साथै आगामी महाधिबेशनमा जनताको बहुदलिय जनवादलाई लिएर अघि बढ्ने धारणा आएसँगै ओली तथा दाहालको गुट नै संकटमा परीरहेको छ ।

तथापी आफ्ना अध्यक्षसँग चारदिनदेखि भेटघाट र छलफल नगरीरहेका ओलीले बिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँग बिहिवार भेटघाट गरेपछि दाहाल थप सशंकित बनेका छन् । भेटमा देउवाले कोरोना भाइरस नियन्त्रणका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको भनिएको छ । तर ओली र देउवाबीच सत्ता समिकरणसम्मका विषयमा छलफल भएको हुन सक्ने आशंका गरिएको छ । देउवा र ओलीबीच गत असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो ।

त्यस दिनको भेटघाट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्रै सिमित भएको बताईएको थियो । तर विभिन्न बहानामा निरन्तर ओली र देउवाबीच भेट हुनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । दुई नेताबीचको भेटले दाहाललाई मात्रै होइन कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पनि सशंकित बनाएको छ । तर कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख १७ गतेको निर्णयले कांग्रेस र प्रधानमन्त्री ओलीबीचको सम्बन्ध कति तिक्ततापूर्ण छ भन्ने प्रस्ट्याउँछ ।

राजनीतिक दल र संवैधानिक परिषद्को बैठकसम्बन्धी कार्यविधि संशोधन गर्न जारी भएका दुई अध्यादेशको पृष्ठभूमिमा बसेको कांग्रेस बैठकले ओलीको राजीनामा मागिसकेको थियो । विभिन्न घटनाक्रम जोड्दै कांग्रेसको उक्त बैठकले ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर समेत गरेको थियो ।

विगतलाई हेर्ने हो भने देउवा र ओलीबीचको सम्बन्धमा विश्वासभन्दा अविश्वास बढ्ता छ । एमसीसी बाहेक उनीहरूबीचको सम्बन्ध आरोह–अवरोहबीच नै गुज्रिएको छ । ओली नेतृत्वको पहिलो सरकार गिराउने मुख्य भूमिकामा देउवा नै थिए । ओली दोस्रो पटक सरकारमा पुगेपछि पनि सम्बन्धमा खासै सुधार देखिएन ।

बरु देउवाले सरकारका कमजोरीप्रति आक्रामक नभई राज्यका संयन्त्रमा आफ्नो सहभागिता खोज्न थाले । भारतले नेपालको भूमि कालापानी र लिम्पियाधुरा समेटेर नक्सा जारी गर्दा देउवाले ओलीको मिलेमतो रहेको आरोप सार्वजनिक रूपमै लगाए पनि संसदवाट सहमतीमै नक्सा पारीत गरीयो । जानकारहरु ओलीको तुलनामा देउवाको सम्बन्ध नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बढी न्यानो देखिन्छ । तर पछिल्लो समय देउवा र ओलीबिच भईरहेका भेटघाटले कतै ओली देउवालाई हातमा लिएर नेकपालाई सिध्याउने खेलमा त लागेका छैनन् भने संसय बढेर गएको छ ।



प्रतिक्रिया दिनुहोस्