Logo

भारतीय अधिकारीको पत्रको जानकारी केन्द्र सरकारलाई गर्यौं, गृहको निर्देशनअनुसार कदम चाल्छौं : सिडिओ पोखरेल



दार्चुला जिल्ला प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले भारतीय अधिकारीहरुले आफूहरुलाई पठाएको पत्रको बारेमा केन्द्र सरकारलाई जानकारी गराईसकेको जनाएका छन् । उनले आफूहरुले अब गृहमन्त्रालयबाट प्राप्त निर्देशनअनुसार जस्तो निर्देशन प्राप्त हुन्छ, त्यहीअनुसार कदम चाल्ने स्पष्ट पारेका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनेका छन्,‘हामी त्यहाँ २ वटा वि.ओ.पी. स्थापना गर्न गइरहेका छौँ । यही महिनामा त्यो वि.ओ.पी पनि स्थापना हुन्छ । त्यसपछि स्वेच्छाको प्रत्याभूति भएपछि यी समस्याहरू आउँदैनन् जस्तो मलाई लाग्छ ।’ प्रस्तुत छ सिडिओ पोखरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

भारतीय अधिकारीले नेपाली भूमिलाई आफ्नो क्षेत्र दाबी गर्दै पत्र पठाएको छ । तपाईहरू के गर्दै हुनुहुन्छ ? तपाईहरूले यसबारेमा केन्द्र सरकारलाई अवगत गराउनुभयो त ?

हामीले यस सम्बन्धमा केन्द्रमा पनि समन्वय गरेका छौ। नेपालकै नागरिकले नेपालमा आवतजावत, घुमफिर गर्न पाउने अधिकार नेपालको संविधानप्रदत्त अधिकार भएको हुनाले त्यो सन्दर्भमा नेपाली नागरिकले घुम्न पाउने नै भए । कोही लुकीछिपी त्यहाँ गएका छन् कि छैनन् भनेर सूचना पाऊँ भनेर हामीले पहल गरेका छौँ ।

तपाईहरूले नेपाल सरकारलाई दिनुभयो, सबै रिर्पोटिङ्ग गर्नुभयो ?

उहाँहरूले गरेको कुरा हामीले जानकारी गराएका छौँ ।

अनि के भनेको छ त सरकारले ? तपाईहरूले कस्तो कदम चाल्नुहुन्छ त ?

गृहमन्त्रालयबाट प्राप्त निर्देशनअनुसार जस्तो निर्देशन प्राप्त हुन्छ, त्यहीअनुसार कदम चाल्छौँ । र, हामी त्यहाँ २ वटा वि.ओ.पी. स्थापना गर्न गइरहेका छौँ । यही महिनामा त्यो वि.ओ.पी पनि स्थापना हुन्छ । त्यसपछि स्वेच्छाको प्रत्याभूति भएपछि यी समस्याहरू आउँदैनन् जस्तो मलाई लाग्छ ।

नेपालीहरूले विना अवरोध आवतजावत गर्न पाउनुपर्छ । तर भारतले प्रस्ट रूपमा भनेको छ–लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रै हो भनेर भारतले फेरि दाबी ग¥यो नेपालको भूमिलाई । त्यतातिर सरकारको ध्यान अझै गएन । तपाई प्रमुख जिल्ला अधिकारीको नाताले सबै कुरा गृहमन्त्रीलाई अवगत गराउँदा पनि खोइ त नेपाल सरकारले अझै बोलेको छैन त ?

ठीकै छ, उहाँहरूले जुन कुरा भन्नुभएको छ । दुई देशबीचको मामलाको सन्दर्भमा त्यो कुरा माथिबाटै केन्द्रबाट हुन्छ । हामीले यहाँ स्थानीय रूपमा पहिले भएका सीमा चौकीहरूलाई पुनस्थार्पना गरेका छौँ । नेपाल सशस्त्र प्रहरी बलको सहयोगमा ३ वी.ओ.पी. को निर्माण गरेका छौँ । अहिले बाढीपहिरोको मौसम र विकट हिमाली क्षेत्र भएको हुनाले र यो लकडाउनको पनि अवस्था भएको हुँदा त्यसतर्फ मानिसहरूको आवागमन भएको जस्तो हामीलाई लाग्दैन । टिकंर भन्ने ठाउँमा आवादी अलि बाक्लो छ, त्यहाँ सीमावर्ती स्थानहरू र त्यहाँको सदरमुकाम खलंगामा समेत बसाई साझा जस्तो भएको हुँदा अहिले लकडाउनको बेला उहाँहरूले चहलपहल गर्न नसकेको अवस्थामा उहाँहरूलाई खानाको समस्या भएको हुनाले २०० क्विन्टल चामल पनि त्यहाँ पठाएका छौँ । हिँडडुल गर्नका लागि त्यहाँ झोलुङ्गे पुल पनि आवश्यक छ भन्ने सन्दर्भमा त्यो झोलुङ्गे पुल पनि पठाउने व्यवस्था भएको छ । ३ ओटा वी.ओ.पी. सशस्त्र प्रहरी बलको सहयोगमा स्थापना गरेर नेपाल प्रहरीबाट सीमाचौकीको पुनस्र्थापना गरेर अहिले उनीहरूको भवननिर्माणको काम पनि ठेक्का प्रक्रियामा गईसकेको र सशस्त्र र नेपाल प्रहरीबाट थप सुरक्षा व्यवस्था त्यहाँ परिचालन गर्ने काम भईरहेको छ । विस्तारै निराकरण हुँदै जाने कुरा म यहाँ प्रस्तुत गर्न चाहन्छु ।

पत्रमा के–के छ, व्यहोरा पढेर सुनाउनुहोस् ?

म बाहिर छु अहिले । पत्र अहिले हातमा त भएन । त्यसमा नेपालतर्फबाट नेपालको भूमिमा लुकीछिपी कुनै हिसाबले नेपालीहरू गएको भन्ने हामीलाई सूचना प्राप्त भएको हो । त्यस्तो हो/होइन, हो भने हामीलाई जानकारी पाऊँ भन्ने व्यहोराको पत्र उहाँहरूले हामीलाई पठाउनुभएको अवस्था हो । यो जुन बाहिर पेपरमा आएको कुराहरू छ, त्यही पत्र उता पनि यता पनि उही पठाएको छ ।

त्यसो भए तपाईहरूले नेपाल सरकारलाई रिपोर्टिङ्ग गरिसकेपछि भारतीय पक्षले केही भनेको छ ?

त्यस्तो केही पनि आएको अवस्था छैन ।

अहिलेसम्म त्यहाँ अवरोध-समस्याहरू आएको अवस्था छैन ?

त्यस्तो खालको समस्या देखिएको छैन । अहिले लकडाउन भएको कारण र बाढी-पहिरो र विकट हिमाली क्षेत्र भएको, अहिले अत्यधिक वर्षा भएको सन्दर्भमा मानिसहरूको आवागमन समेत नभएको हुँदा भनेकोे कुराप्रति उताबाट पनि केही कुरा आएको अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्