Logo

दाङमा बाढि/पहिरोको ठूलो समस्या छैन्, जोखिममा रहेकालाई सुरक्षित स्थानान्तरण गरिसक्यौं : सिडिओ रिजाल



दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लामा बाढि/पहिरोको जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानान्तरण गरिएको स्पष्ट पारेका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिडिओ रिजालले भनेका छन्,‘जुन व्यक्तिहरू जोखिममा हुनुहुन्छ, उहाँहरूलाई स्थानान्तरण गर्ने र सुरक्षित ठाउँमा राख्ने कामहरू भईरहेको छ । अहिलेसम्म त्यस्तो ठुलो खालको समस्याहरू छैन ।’ प्रस्तुत छ सिडिओ रिजालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

दाङको के छ अवस्था अहिले ? बाढी/पहिरोबाट जनता विचल्लीमा परेका छन् नि ?

दाङमा अहिले छिटफुट रूपमा वर्षा भईरहेको छ । पहाडी भागमा बंगलाचुली गाउँपालिकामा हिजो पनि पहिरोले घर पुरिएको थियो । २ जना व्यक्तिको दुःखद निधन भएको छ । सोही गाउँपालिकाको वडा नम्बर को धावा भन्ने ठाउँमा पहिरोको सम्भावना देखिएपछि केही व्यक्तिहरूलाई सुरक्षित किसिमले स्थानान्तरण गर्ने काम भएको छ । अरू ठाउँमा त्यस्तो समस्या देखिएको अवस्था छैन ।

त्यसो भए दाङमा कुनै खालको समस्या छैन ? राहतहरू पाइरहेका छन् ? उद्धारहरू भईरहेका छन् तीव्र गतिमा ?

जुन व्यक्तिहरू जोखिममा हुनुहुन्छ । उहाँहरूलाई स्थानान्तरण गर्ने र सुरक्षित ठाउँमा राख्ने कामहरू भईरहेको छ । अहिलेसम्म त्यस्तो ठुलो खालको समस्याहरू छैन ।

धेरैले भनेका छन्, बाढी/पहिरोको पीडामा जनता छटपटाइरहेका छन् । उद्धार हुन र राहत पाउन सकिएन भनिरहेका छन् नि जनताले ?

दाङमा अहिले त त्यो छटपटिनुपर्ने र तत्कालै उद्धार गर्नुपर्ने अवस्था छैन । १८ घरपरिवारलाई सुरक्षित स्थानान्तरण गर्ने काम भएको छ । पालिकाहरूको समन्वयमा उहाँहरूलाई खाने बस्नेको व्यवस्था मिलाइसकेको हुनाले अहिले त्यसरी छटपटाउनुपर्ने अवस्था छैन ।
त्यसो भए दाङमा बाढी/पहिरोको कुनै समस्या छैन ? जनतालाई कुनै पनि आर्थिक रूपमा पनि समस्या छैन ?
अहिलेसम्म छैन ।

त्यसो भए राहतहरू पाइरहेका छन् ?

पाईरहेका छन् ।

कोरोनाको प्रकोपको अवस्था के छ ?

कोरोनाको पहिलेको तुलनामा घट्दो क्रममा छ । समूदायस्तरमा पनि परीक्षणको कामहरू गरिरहेका छौँ । त्यसको एक÷दुई दिनमा नतिजाहरू आउला । समुदायमा कोरोना फैलिएको छ कि छैन भनेर पत्ता लाग्छ । अहिले ६४४ जना संक्रमित हो । ६४४ मध्ये ६१२ जना घर फर्किसक्नुभएको छ । अहिले ३२ जना जति आइसोलेसनमा हुनुहुन्छ । क्वारेन्टाइनमा झण्डै/झण्डै २०० जना विशेषगरी भारतलगायतको विभिन्न देशहरूबाट आउनुभएको व्यक्तिहरू हुनुहुन्थ्यो । परीक्षणपश्चात् उहाँहरूलाई पनि घर फर्काउने काम गर्छौँ । पहिलेको तुलनामा धेरै घटिसकेको अस्वथ छ ।

त्यसो भए कोरोना संक्रमणको संख्या घट्यो, पछिल्लो समय ?

एकदम, ६४४ जना संक्रमितमध्ये अहिले ३२ जना हुनुहुन्छ भनेपछि घटेको अवस्था हो ।

अहिले समुदायमा गएको छैन, कोरोना ?

समुदायमा केही ठाउँमा परीक्षण गर्दाखेरि देखिएको छैन तर हिजोबाट थप ४ ओटा पालिकाहरूमा परीक्षण सुरु गरेका छौँ । घोराही, तुलसीपुर, लमही नगरपालिका र गडवाल गाउँपालिका, यसको रिजल्ट आउने भएकोले एक/दुई दिनमा थाहा हुन्छ ।

हाम्रो देशमा कोरोना समुदायमा जाँदैछ भनेर धेरै तथ्यांकहरू बाहिर आइसकेको छ । पश्चिम नेपालको कुरा गर्दाखेरि समस्या त देखिएको छ । दाङमा कोरोनाको संक्रमण समुदायस्तरमा छ कि छैन ?

अहिलेसम्म हामीले परीक्षण गरेकोमा देखिएको छैन । हिजोबाट थप परीक्षणहरू पनि गरिरहेका छौँ । त्यसको रिजल्ट आउनलाई सम्भवत हामीले भोली पर्सीसम्म कुर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot