Logo

युद्धकालमा बाबुरामलाई अलिक अन्याय भयो भनेर मैले साथ दिएकै हो, म कसैको गुटमा छैन् : रायमाझी



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफू नेताको पछि लागेर हिँड्ने नेता नभएको स्पष्ट पारेका छन् । उनले आफू दुवै अध्यक्षको गुटमा नभएको र पार्टीमा रहेको पनि जिकिर गरे । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति र सम्वादको प्रयास भैरहेको पनि उनले जनाए । र, दुई अध्यक्षबीच सहमतिको वातावरण तयार भैरहेको उनको दाबी छ । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ नेता रायमाझीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री के.पी. शर्मा ओली र अध्यक्ष प्रचण्डको बीचमा संवाद हुन सकेको छैन । तपाईहरू के हेरेर बसिरहनु भएको छ ? संवाद गराउन सक्नुहुन्न ?

संवादको लागि आधार तयार हुँदै गईरहेको छ । सहमति, संवाद गराउनका लागि प्रयासहरू भईरहेका छन् । हामी त्यसकै लागि लागीरहेका छौँ र राम्रो वातावरण तयार भईरहेको छ ।

कहिले हुन्छ संवाद ? ८/९ दिन भईसक्यो, संवाद हुन नसकेको ?

कोरोना महामारी अझै बढेर गएको कारणले त्यसले पनि बाहिर आउने, संवाद गर्ने, भेटघाट गर्ने, मिति राख्ने कुरामा अलिकति कठिनाई आएको हुनाले त्यो समस्या परिरहेको छ जस्तो लाग्छ ।

होईन सम्वादको लागि धेरै माध्यमहरू छन् नि ?

माध्यमहरू प्रयोग भईरहेका छन् । दोस्रो दर्जाका नेताहरूले सबैतिर छलफल गरेर संवादको लागि आधार तयार गर्ने कामहरूमा काफी मात्रामा प्रयत्नहरू भईरहेका छन् ।

तपाई एकाएक प्रधानमन्त्री के.पी. शर्मा ओलीको गुटमा जानुभयो र प्रधानमन्त्रीको प्रशंसा गरिरहनुभएको छ प्रत्येक दिन ? तपाई प्रधानमन्त्रीका सल्लाहकारहरूलाई गएर पनि भेट्नुहुन्छ । तपाईको स्वार्थ के छ ?

मेरो कुनै स्वार्थ छैन । म प्रधानमन्त्री हुने पनि होइन । म पार्टी अध्यक्ष हुने पनि होइन । मेरो एक मात्र उद्देश्य के छ भने यो पार्टीलाई एकताबद्ध गर्नेमात्र उद्देश्य हो । पार्टी एकता भएन भने यो ठुलो राष्ट्र, जनताको लागि क्षति हुन्छ । हाम्रा प्राप्त उपलब्धिहरू पनि गुम्ने त्यत्तिकै सम्भावना छ । त्यसकारण आन्दोलन, जनता र राष्ट्रप्रति जिम्मेवार भएर नै म लागेको हो ।

तपाई गुट परिवर्तन गर्नमा माहिर नेता हो । पहिले बाबुराम भट्टराईसँग हुनुहुन्थ्यो । त्यसपछि प्रचण्डको गुटमा जानुभयो । अहिले माधवकुमार नेपालको गुटमा जाने पनि तपाईको कुरा थियो । अहिले सिधै तपाई प्रधानमन्त्रीको गुटमा लाग्नुभयो नि ? किन ?

विल्कुल गलत हो । हामी निरन्तर रूपमा पार्टीभित्र लाग्यौँ । कयौँ मान्छेहरू टुटफुट भए, विभाजित भए । म निरन्तर पार्टी खोलेबाट गुटहरू बनाउँदै हिँडेको मान्छे होइन । निरन्तर कार्ययोजना, दृष्टिकोणमा अडिने मान्छे हुँ । म सबै नेतालाई सम्मान गर्छु तर नेताको पछि लागेर कुने फाइदा लिने खालको प्रवृत्ति भएको मान्छे म होइन । जहाँसम्म युद्धकालमा बाबुराम भट्टराई अलिक अन्याय भयो भनेर मैले साथ दिएकै हो । बाबुरामजीजस्तो विद्वान्, योग्यता, क्षमता भएको मान्छे जनयुद्धमा त्यो पार्टीमा जरुरी हुन्छ । उहाँलाई निषेध गर्न हुन्न भनेर मैले साथ दिएको हो, गुटको लागि साथ दिएको होइन । बाबुराम भट्टराईको गुट बनाउन मैले कुनै कोशिस पनि गरिनँ । बाबुराम भट्टराईलाई साथ दिनुको मतलब मैले कहिले पनि अरू नेताहरूलाई निषेध गरिनँ । यदि म गुटको मान्छे हुन्थेँ भने बाबुराम भट्टराईले पार्टी छोड्दाखेरि म पनि छाडेर जान्थेँ नि ? म त पार्टीको सिपाही हुँ भनेर पुष्टि भईसक्यो ।

सरकारले काम गर्न सकेन भन्ने गुनासो छ, तपाई के भन्नुहुन्छ ?

सरकारका केही कमी कमजोरीहरू हुन सक्छन् । तर पनि यो महामारीलाई अलि व्यवस्थित रूपमा नेतृत्व गर्नुपर्छ । यसमा लड्नको लागि हामी योजनाबद्ध रूपमा अगाडि जानुपर्छ । यद्यपि हाम्रा योजनाहरू बनिरहेका छन्, ती अपर्याप्त छन् । बीचमा राम्रो प्रगति भईरहेको थियो । पछिल्लो चरणमा आर्थिक स्थिति धरासयी हुन्छ कि भनेर सायद सरकारले लकडाउनलाई फेरि खुकुलो बनाउने काम ग¥यो । धेरै लामो समयसम्म पनि हामी लकडाउन गर्न सक्दैनौँ । त्यसकारणले यसको भ्याक्सिन पत्ता नलागेसम्म वास्तवमा यसको निर्मूल हुने न्यून भईरहेको छ । छिमेकी मुलुक भारतमा पनि त्यही रूपमा भईरहेको छ । जति पहलहरू भईरहेका छन्, ती अपर्याप्त छन् तर पनि हामीले यसको विरुद्ध लड्नको लागि सबैले अनुशासित भएर योजनाबद्ध किसिमले अगाडि बढ्नुपर्छ । लापरबाही हामीले थोरै पनि गर्नुहुँदैन ।

कोरोना रोकथामको कुरा गर्दाखेरि अस्पताहरू छैनन् । उपचारहरू पाएका छैनन्, विरामीहरूले, के भन्नुहुन्छ ?

सरकारले अझ पहल बढाउनुपर्दछ । जति गरेको छ, त्यो एकदम अपर्याप्त छ भन्ने मेरो भनाई हो ।



प्रतिक्रिया दिनुहोस्