Logo

जनसम्पर्कका कार्यालयमा सङ्क्रमणको जोखिम बढ्दो



हेटौँडा, २ भाद्र । गत साउनयता बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर बढेसँगै उच्च अधिकारीहरूमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । जनसम्पर्कमा रहने जनप्रतिनिधिदेखि प्रशासकसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउनपुर १२ का वडाध्यक्षदेखि बाग्मती प्रदेशको प्रदेश प्रमुखको कार्यालयका सचिवसम्ममा कोरोना सङ्क्रमण पुुष्टि भएको छ । उच्च सुरक्षा अधिकारी, चिकित्सक, बैङ्कर लगायतमा कोरोना भाइरस सङ्क्रमण भएपछि उच्च अधिकारीहरू कोरोना जोखिममा रहेको पुष्टि भएको हो ।

उपसभामुखलाई कोरोना सङ्क्रमण

मकवानपुर समाचारदाताका अनुसार बाग्मती प्रदेशको प्रदेश सभाका उपसभामुखलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा उपसभामुखको स्वाबको नमुनाको पीसीआर परीक्षण गरिएकोमा सोमबार नतिजा पोजेटिभ आएको हो । हेटौँडा उपमहानगरपालिका–४, कर्रास्थित आइसोलेसन कक्षका इन्चार्ज भोला चौलागाईंले उपसभामुखलाई कोरोना सङ्क्रमण भएको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

उपसभामुख हाल हेटौँडामा नै होम आइसोलेसनमा हुनुहुन्छ । यसअघि उहाँको स्वाबको नमुना परीक्षण गर्दा शङ्कास्पद देखिएपछि पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । मकवानपुरमा सोमबार उपसभामुख, ११ प्रहरीसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ प्रहरीको कार्यक्षेत्र मकवानपुर रहेको जनाइएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरका १२ प्रहरी र तीन जना बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता इन्द्रबहादुर रानाले हटियास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण भएपछि प्रहरी पोस्ट ‘सिल’ गरिएको जानकारी दिनुभयो ।

प्रशासकहरू उच्च सतर्कता अपनाउँदै

नारायणगढ समाचारदाताका अनुसार भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। श्रीराम तिवारीलाई कोरोना पुष्टि भएसँगै टे«सिङमा परेका चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लाका उच्च पदस्थ व्यक्तिले थप सतर्कता अपनाउँदै आफ्नो काम गर्न थाल्नुभएको छ । टे«सिङमा परेर उच्च जोखिममा रहनुभएका जिल्लाका महवपूर्ण व्यक्तिले सेल्फ क्वारेनटाइनबाटै दैनिक कामकारबाही थाल्नुभएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको हटस्पर्ट बनिरहेको भरतपुर अस्पतालका मेसु डा। तिवारीसँग प्रजिअ भट्टराई लगायतका व्यक्तिको पटक–पटक बैठकमा सहभागी हुँदै आउनुभएको थियो ।

जिल्लास्तरीय कोरोना नियन्त्रण कार्यदलको बैठकमा गत शुक्रबार भरतपुर अस्पतालमा भएको बैठकमा डा। तिवारीसहित प्रदेश सभाका सदस्यद्वय घनश्याम दाहाल, विजय सुवेदी, प्रजिअ भट्टराई, भरतपुर महानगर प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारी, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमलगायत सहभागी हुनुहुन्थ्यो ।

टेसिङमा पर्ने सबैको केही दिनमै स्वाब परीक्षण गरिने भएको छ । यता चितवनमा विभिन्न अस्पतालका कार्यरत २० जना स्वास्थकर्मी तथा कर्मचारीमा सङ््क्रमण पुष्टि भएको छ । चितवनमा अहिलेसम्म २०९ जनामा कोरोना सङ्क्रमण भइसकेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot