Logo

शब्दमा राष्ट्रकवि माधवप्रसाद घिमिरे (परिचय)



भदौ २, काठमाण्डौ । जन्म र मृत्यु सत्य छ । तर सबैको जन्म र मृत्यु एकनाशको हुँदैन । अझ भनौँ, माधवप्रसाद घिमिरेजस्ता सबैको मनमा बस्न सफल व्यक्तिको मृत्युले भावविह्वल बनाउँछन । र फेरी पनि भन्नैपर्छ, मृत्युलाई कसैले टार्न सक्दैन । हो, राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा निधन भएको छ ।

वि स. १९७६ साल असोजमा जन्मिनुभएका घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको हो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुनुहुन्थ्यो । उहाँ बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेखनमा निरन्तर कलम चलाउदै आउनुभएका बहुमुखी प्रतिभा हुनुहुन्थ्यो । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् । उहाँले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनुभएको थियो ।

उहाँका नवमञ्जर, घामपानी, नयाँ नेपाल, किन्नरकिन्नरी जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । उहाँले लेखेको गौरी शोककाव्य सर्वाधिक मन पराइएको कृति हो । साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन् । उक्त कृतिमा उहाँले आफ्नी पहिलो श्रीमतीको असामयिक निधनपछिको कारुणिक अवस्था चित्रण गर्नुभएको छ । उहाँलाई ’राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो ।

घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो भने वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी वि.सं.२०५८ सालमा चारु चर्चा निबन्धका लागि साझा पुरस्कार प्रदान गरिएको थियो । उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको थियो । घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो ।

घिमिरे जन्मिएको तीन वर्षमा उहाँकी आमाको निधन भएको थियो । ६ वर्ष हुँदा अक्षर चिन्नुभएका उहाँले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गर्नुभएको थियो । ११ वर्षको उमेरमा घर छाडेर लमजुङ जिल्लाको दुराडाँडाको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गनुभएको थियो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस पुग्नभएको थिो । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको थियो ।

उहाँले राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ’मनको बाँध’ चलचित्रको ’फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ’आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचना गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्