Logo

अस्पतालमा बसेकाभन्दा घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर कम : प्रवक्ता गौतम



काठमाडौं, ३ भदौ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये अस्पतालमा बसेकाभन्दा घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर कम रहेको विज्ञहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालमा बसेका भन्दा घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर कम रहेको अध्ययनले देखाएको बताएका हुन् ।

उनले भने, “घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर थोरै र निको हुने दर धेरै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्, त्यसैले सङ्क्रमितहरु घरमै आइसोलेसनमा बस्नु उपयुक्त देखिएको छ ।”

उनले शौचालय, खाने, बस्ने व्यवस्था छुट्टै गर्न संभव भएकाहरुलाई मात्रै घरमै आइसोलेसनमा बस्न सुझाव दिए । उनले कोरोनाबाट सङ्क्रमित भएकालाई विरामी भन्न नमिल्ने तर्क गरे ।

“कोरोनाबाट सङ्क्रमित भएकाहरु विरामी होइनन, उनीहरु थप विरामी हुने वा अरु रोगले समस्यामा पार्ने खतरा बढी भएका व्यक्ति मात्रै हुन,” उनले भने ।

कोरोना सङ्क्रमित जो पनि हुन सक्ने भएकाले आफुलाई पर्दा कस्तो होला भन्ने सम्झेर अरुलाई घृणा गर्ने, अपमानित गर्ने व्यवहार नगर्न पनि उनले आह्वान गरे ।

कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएकाहरुसँग मात्र नभई सवैसँग सम्मानपूर्व सतर्कता अपनाउनु पर्नेमा प्रवक्ता डा गौतमले जोड दिए ।
आम नागरिकहरुले सामाजिक दुरी काम नगर्ने, हेलचक्याई गर्ने गरेकाले देशका धेरै ठाउँमा निषेधाज्ञा लगाउने निर्णय गरिएको उनले जानकारी दिए ।-रेडियो एनआरएन/File photo



प्रतिक्रिया दिनुहोस्