Logo

नागढुंगा सुरुङ खन्ने कार्य थाल्दै



काठमाडौं, भदौ ४ । राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हुँदै छ । सुरुङ निर्माणको ठेक्का पाएको जापानी ठेकेदार कम्पनीले तीन हप्तापछि सुरुङ खन्ने कार्य गर्ने सडक विभागले जनाएको छ ।

विभागको बैदेशिक समन्वय महाशाखाका निमित्त प्रमुख रुपकराज भण्डारीले अबको २१ दिनपछि सुरुङको मुख्य सुरुङ खन्ने कार्य थाल्ने कार्ययोजना ठेकेदार पक्षले पेस गरेको जानकारी दिए ।

सोहीअनुसार उक्त कम्पनीले निर्माण सामग्री, मेसिनहरुलगायतको बन्दोबस्ती गरिरहेको उनले बताए । ‘ठेकेदार कम्पनीले तीन हप्तापछि मुख्य सुरुङ खण्ड शुरु गर्ने भनेर कार्ययोजना दिएको छ । अहिले कम्पनी त्यसकै तयारीमा छ’ –उनले भने।

उनका अनुसार ठेकेदार कम्पनीले सुरुङ खन्न चाहिने मिसेनरी सामग्री ८० प्रतिशतको हारहारीलाई नेपाल ल्याइसकेको छ ।

कोरोना महामारीका कारण निर्माण सामग्री र जनशक्तिको समस्या भने आयोजनालाई चुनौतीका रुपमा खडा भएको महाशाखाका निमित्त प्रमुख भण्डारीको भनाई छ ।

त्यसबाहेक नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनालाई अत्यावश्यक रुपमा चाहिने विस्फोटक पदार्थ खरिद प्रक्रिया थालेकाले कार्ययोजनाअनुसार काम हुनेमा ढुक्क रहेको उनले दाबी गरे ।

सुरुङ खन्नका लागि तीन सय टन विस्फोटक पदार्थ ल्याउन रक्षा मन्त्रालयले सहमति दिएको आयोजनाले जनाएको छ ।

आयोजनालाई सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थको आवश्यकता पर्दछ । आयोजनालाई विस्फोटक पदार्थ खरिदका लागि सहमति ढिला प्राप्त भएको आयोजनाले जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot