Logo

निषेधाज्ञा उल्लंघन गरे कानुनअनुसार कारबाही गर्छौं : सिडिओ दाहाल



काठमाडौंका सिडिओ जनकराज दाहालले कोरोना संक्रमणको संख्या ह्वात्तै बढेकोले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा आजबाट भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको र यो आदेश सबैले पालना गर्नुपर्नेमा जोड दिएका छन् । आदेश उल्लंघन गर्नेलाई कानूनअनुसार कारबाही गरिने उनको चेतावनी छ । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ सिडिओ दाहालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

आजबाट निषेधाज्ञा छ, जताततै ? यो निषेधाज्ञामा के के गर्न पाईन्छ ? के के गर्न पाइँदैन ? तपाईहरूको रणनीति के छ ?

काठमाडौँ उपत्यकामा संक्रमणको संख्या बढ्दै गएको छ । सुरक्षा निकायसँग हामीले समन्वय गरेर निष्कर्ष के निकाल्यौँभन्दा हामीले यो बढ्दै गएको दरलाई नियन्त्रण गर्न असफल भयौँ भने झन् ठुलो बिग्रह समस्या उत्पन्न हुन्छ । हामीले तीन वटै जिल्लाको जिल्ला प्रशासनको मिलेर डि.डि.एस.सीको बैठक बसेर हामीले १७ बुँदे निषेध गर्ने आदेश गरेका छौँ । आदेशको पालना गर्न सबैबाट सहयोग हुनुपर्छ । यो १७ बुँदे आदेशमा के के गर्न नपाईने भनेर हामीले उल्लेख गरेका छौँ । सहजीकरण गर्नुपर्ने विषय पनि हामीले उल्लेख गरेका छौँ ।

तपाईहरूले जुन आदेश दिनुभएको छ, त्यो आदेश मान्लान् त जनताले ?

हामीलाई विश्वास छ । पक्कै पनि मान्नुहुन्छ । किनभने यो सबैको हितको लागि जारी गरेको आदेश हो । यो कसैले कसैलाई निषेध गर्ने कुरा भन्दा पनि स्वास्थ्यलाई प्रतिकुल असर नपर्ने गरी गरिएको निर्णय हो यो ।

कोरोनाको संक्रमणको संख्या ह्वात्तै बढ्यो । तपाईहरूले निषेधाज्ञा जारी गर्नुभयो तर निषेधाज्ञा भनेको के हो ? के गर्न पाईन्छ ? के गर्न पाइँदैन ? कफ्र्यु हुने हो कि ? सेना सडकमा आउने हो कि ?

एक शब्दमा भन्नुपर्दा यो आदेशको उद्देश्य भनेको अत्यावश्यक कामबाहेक कसैलाई बाहिर निस्कन नदिने भन्ने हो । मान्छेको भीडभाड अनियन्त्रित रूपले बढ्दै जाँदाखेरि संक्रमण बढ्छ । संक्रमणले जोखिम निम्त्याउँछ । यो विगत ५ महिना अगाडिदेखि नै सुन्दै आएको कुरा हो । सबैलाई थाहा भएको विषय हो । कोभिड के हो ? यसमा ध्यान दिनुपर्ने कुरा के हो ? भनेर ५ महिनादेखि निरन्तर हामीले विज्ञापन मार्फत सम्प्रेषण गरेका छौँ । जहाँ भीडभाड हुन्छ, जहाँ सोसियल डिस्टान्स मेन्टेन हुँदैन, त्यहाँ संक्रमणको संख्या बढ्न सक्छ । यो स्थिति अत्यन्तै चुनौतीपूर्ण छ । यसलाई नियन्त्रण गर्न प्रत्येक नागरिक सचेत हुनुपर्छ भन्ने सरकारको आग्रह पनि हो । चैत्र ११ गतेदेखि गरेको लकडाउन हामीले १२० दिन अभ्यास गरेका छौँ । त्यसपछि विभिन्न मोडालिटिमा हामीले सेवा प्रदान गरेका छौँ । पछि हामीले निषेधाज्ञा जारी गरेका छौँ । प्रत्येक नागरिक सचेत नहुने हो भने स्थिति भयावह हुन्छ । यसको लागि हामीले पूर्वसावधानी स्वरूप हामीले १७ बुँदे निषेधाज्ञा जारी गरिसकेका छौँ ।

तपाईहरूले निषेधाज्ञा जारी गर्न ढिलो गर्नुभएन ?

यसमा हामीले विभिन्न अभ्यासहरू गर्दै आएका छौँ । अहिलेको आदेश भनेको अलिकति कडा हो । भाद्र १ गतेबाट जुन अधिकार प्रत्यायोजन गरिएको छ, संक्रामक रोग ऐन, २०२० अनुसार यो दुई वटा जगमा हामीले टेकेर आदेश जारी गरेका छौँ । यो द्वन्द्वात्मक प्रकृतिको छ । हामीले विभिन्न मितिमा जारी गरेका आदेशहरू, अहिलेसम्म हामीले जुन अभ्यास गर्दै आयौ, त्यो त्यति प्रभावकारी नदेखिएको हुनाले संक्रमितको संख्या पनि बढ्दै गएको स्थितिमा हामीले केही निर्णय त गर्नैपर्छ । यदि यो आदेशको उल्लंघन भएको खण्डमा कानुनअनुसार कारबाही गर्ने भन्ने भएको हुनाले कडा आदेश जारी गरिएको हो ।

आजको दिनमा मान्छेहरू बिना काम सडकमा निस्के भने कस्तो कारबाही हुन्छ ?

अहिले संक्रमणको संख्या पनि बढिरहेको छ । यसको व्यवस्थापन पनि अत्यन्तै कठिन छ । यो ५ महिनादेखि जानकारी गराएको विषय हो । कारबाही त हुन्छ, हुन्छ । प्रशासनको कारबाहीबाट बच्दाबच्दै कोभिडको कारबाहीबाट बच्न सकिँदैन ।

भदौ १० गतेपछि पनि तपाईहरू निषेधाज्ञा जारी गर्नुहुन्छ कि हुँदैन ?

७ दिनमा नियन्त्रणमा आयो भने र यसमा जनताले सहयोग गर्नुभयो भने हामीले यो बीचमा आइसोलेसन सेन्टर बढाउने, अस्पताल र क्वारेन्टाइनको क्षमता बढाउने हिसाबले सबै निकाय हामी यसमा केन्द्रित हुन्छौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot