Logo

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्यमा उल्लेख्य सुधार



ब्रातिस्लाभा, ६ जेठ । गोली हानी हत्या गर्ने प्रयासपछि गम्भीर घाइते बनेका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको स्वास्थ्य उल्लेख्उय सुधार देखिएको उहाँको उपचारमा संलग्न चिकित्सकको समूहले आइतबार जानकारी गराएको छ ।

प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था हाल खतरामुक्त बनेको उपप्रधानमन्त्री रोबर्ट कालिनाकले आइतबार बताएका छन् ।

एक जना बन्दुकधारीले पेटसहित शरीरका चार स्थानमा गोली हानेपछि फिको बुधबारदेखि अस्पताल भर्ना भएका थिए ।

फिकोका निकटतम राजनीतिक सहयोगी कालिनाकले पत्रकारसँगको संवादमा भने, “उहाँ (प्रधानमन्त्री फिको) को जीवन तत्कालका लागि खतराबाट मुक्त भएको छ तर उहाँको अवस्था गम्भीर छ र उहाँलाई सघन उपचारको आवश्यकता छ ।”

स्लोभाकियाका प्रधानमन्त्री खानको बुधबार पाँच घण्टा र शुक्रबार अर्को शल्यक्रिया बाँस्का बाइस्ट्रिकाको एक अस्पतालमा गरिएको थियो ।

“हामी उहाँको अवस्थालाई सकारात्मक पूर्वानुमानको साथ स्थिर मान्न सक्छौं,” कालिनकले अस्पताल बाहिर भेला भएका सञ्चारकर्मीसँगको कुराकानीमा बताए । “अहिले हामी सबै अलि बढी आराम महसुस गरिरहेका छौं,” कालिनाकले भने ।

कालिनाकका अनुसार फिकोलाई अहिले तत्काल बाँस्का बायस्ट्रिकामा नै उपचार गरिनेछ ।

स्लोभाकियाका सञ्चारमाध्यमका अनुसार आक्रमणका लागि आरोपित ७१ वर्षीय कवि जुराज सिन्तुलालाई राजधानी ब्रातिस्लाभाको उत्तरपूर्वमा रहेको पेजिनोकस्थित विशेष दण्ड अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ ।

सिन्तुलामाथि सुनियोजित हत्या प्रयासको आरोप लागेको छ ।

सेन्ट्रल माइनिङ टाउन ह्यान्डलोभामा भएको सरकारी बैठकपछि समर्थकलाई अभिवादन गर्न हिँडिरहेका फिकोलाई गोली हानिएको थियो ।

रक्षामन्त्री तथा फिकोका निकटतम राजनीतिक सहयोगी उपप्रधानमन्त्री रोबर्ट कालिनाकले प्रधानमन्त्री होशमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्