Logo

रक्त सङ्कलन एम्बुलेन्स



पोखरा, भदौ ९ । पोखरामा रक्तदान गर्न इच्छुकको घरमै पुगेर रगत सङ्कलन गर्ने एम्बुलेन्स सञ्चालनमा आएको छ । कुनै विशेष कार्यक्रम आयोजना गरेर रक्तदान गर्ने परिपाटी अन्त्य गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीले जुनसुकै बेला रक्तदान गर्ने इच्छुकका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

कोही रक्तदान गर्न इच्छुक भए रेडक्रसमा फोन गर्नासाथ एम्बुलेन्समा रक्तदानका लागि आवश्यक सामग्री तथा स्वास्थ्यकर्मीको टोली घरमै पुग्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।

गत चैत ६ गतेदेखि सञ्चालनमा आएको एम्बुलेन्सले हरेक महिनामा ७५० देखि आठ सय युनिटसम्म रगत सङ्कलन गर्ने गरेको रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले जानकारी दिए ।

रगत सङ्कलन गर्न सहरी क्षेत्र मात्रै नभएर ग्रामीण क्षेत्र र अन्य जिल्लामा समेत पुगेको उनले बताए। उक्त एम्बुलेन्समा एकै पटकमा चार जनाले रक्तदान गर्न मिल्ने व्यवस्था मिलाइएको रेडक्रस सोसाइटी कास्कीका सदस्य सन्तोष अधिकारीको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्