Logo

महामारीलाई जिस्क्याउँदै राजनीतिक दल



धादिङ, १० भाद्र । कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै लकडाउन गरिन थालेको छ। संक्रमणलाई थप फैलिन नदिन २५ जनाभन्दा बढी भेला हुन नपाउने, धार्मिक कार्यक्रम, भेला, जमघट, बैठकजस्ता काममा कडाइ गरिरहेका बेला धादिङका जिम्मेवार राजनीतिक दलहरूले भने बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशनका कार्यक्रमहरू गरिरहेका छन्।

जेठ ३१ गते मध्यरातमा कांग्रेसका सभापति रमेश धमलासहित जिल्ला तहका नेताहरूको उपस्थितिमा नीलकण्ठ नगरपालिका–१४ स्थित धुवाँकोटमा बृहत् पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्‍यो। मध्यरातको समयमा गरिएको उक्त कार्यक्रममा तीन सयभन्दा बढी सहभागी थिए। त्यसको २० दिनपछि सोही ठाउँमा नेकपाका वाग्मती प्रदेशका नेता रामबहादुर भण्डारी र प्रदेश सांसद डा। रामकुमार अधिकारीसमेत सोही गाउँमा गएर दुई सयभन्दा बढी मानिसको भेला गरी पार्टी छाडेकाहरूलाई फिर्ता बोलाए। धुवाँकोट धादिङको कोरोना संक्रमित देखिएका क्षेत्रमध्ये अति संवेदनशील क्षेत्र हो। सोही ठाउँका तुलबहादुर तामाङ कोरोनाकै कारण ज्यान गएको छ।

त्यस्तै, असार १२ मा नीलकण्ठ नगरपालिका–७ मा नेकपा नीलकण्ठ नगरअध्यक्ष दीपक विश्वकर्माको गाउँबाट नेपाली कांग्रेसले ३५ भन्दा बढी नेता कार्यकर्तालाई कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गरायो। त्यसैको काउन्टरस्वरूप नीलकण्ठ नगरपालिका–७ कै डाडाँगाउँ पुगेर साउन २३ गते प्रदेश सांसद रामकुमार अधिकारीले पनि २२ जना कांग्रेस कार्यकर्तालाई नेकपा प्रवेश गराएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्