Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्न लागेको जानकारी दिए।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए।

आजको बैठकमा अहिले विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ । त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसलगायत विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको मागबमोजिम उनलाई सदनमा बोल्न दिने सहमति गरेका थिए ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकारसम्मेलन मार्फत सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले संसद् बैठक अघि बढ्न नदिने बताएका छन् । कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्न जोसुकै होस् कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।
(((



प्रतिक्रिया दिनुहोस्

Screenshot