Logo

सुरक्षा निकायमा मात्रै १६०० भन्दा बढी कोरोना संक्रमित



काठमाडौं, १२ भदौं । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर संक्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपंक्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन ।

प्राप्त विवरणमा तीन सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एक हजार ६३३ जनामा संक्रमण्मा देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन् । सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै संक्रमण देखिएको थियो । त्यसपछि संक्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ ।

सबैभन्दा बढी नेपाल प्रहरीमा संक्रमित भेटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा संक्रमण देखिएको बताए । उनका अनुसार उपत्यकामा मात्रै १६३ जना फेला परेका छन् । पाँच सयभन्दा बढी निको भएर फर्किसकेका उनको भनाइ छ ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४३५ सशस्त्र प्रहरी संक्रमित भएका छन् । त्यसमध्ये १८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारी दिए ।

नेपाली सेनामा आजसम्म ४०३ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ११६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५०० भन्दाबढी संक्रमित भइसकेका छन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्