काठमाडौँ, १४ भाद्र। काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै हुनुहुन्थ्यो । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उहाँले न कुनै काम गरेर कमाउन सक्नुहुन्थ्यो, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक, प्यासले आलसतालस सडकमा बसिरहेका आमा–छोराको अबस्थाबारे स्थानीय व्यक्तिमार्फत सामाजिक सञ्जालमा सार्वजनिक भयो ।
त्यही सूचनाका आधारमा मानवसेवा आश्रमले दुई दिनअघि आमा–छोराको उद्धार गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा दुवैमा कोरोना पोजिटिभ देखियो । आश्रमका प्रवक्ता सुमन बर्तौला पछिल्लो समयमा यसरी उद्धार गरिएका बेसहाराहरुमा कोभिड–१९ सङ्क्रमण देखिन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म यसरी सडकबाट उद्धार गरिएका १३ जनामा सङ्क्रमण देखिइसकिएको छ । सङ्क्रमितलाई आश्रमको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।
सडकपेटीमा बस्ने र खानेकुरा टिपेर खाने बेसहारा, मनोरोगी तथा असहायमा पनि कोभिड–१९ देखिँदा उनीहरुको व्यवस्थापनमा थप चुनौतीपूर्ण बनेको छ । सडकका बेसहारा सङ्क्रमित भएकाले उद्धारमा खटिएका अभियानकर्मीमा समेत सङ्क्रमणको जोखिम बढेको छ । सेवाकै क्रममा केही सङ्क्रमित भएकाले उनीहरुको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
विगतमा अन्य सर्वसाधारण नागरिकलाई कोरोना लाग्दा राजधानीका सडकका बेसहारामा देखिएको थिएन । साउनपछि भने देखिन थालेको हो । कसरी उनीहरुमा सङ्क्रमण गयो भन्ने यकिन भएको छैन । त्यस विषयमा अध्ययन पनि हुन सकेको छैन तर सडकमा स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग गर्न नजान्ने हुनाले उनीहरु जोखिम वर्गमा पर्नु स्वाभाविक भएको चिकित्सकले भनाइ छ ।
कतिपय अवस्थामा सावधानी विना सडकमा खाना खुवाउने गरिएको छ । त्यसबाट पनि सङ्क्रमण हुनसक्छ । मास्कलगायत मानिसले प्रयोग गरेका स्वास्थ्य सामग्री निसङ्क्रमण नगरी फोहरमा फालिने गरेका छन् । त्यसबाट कवाड टिप्न जाँदा वा खानेकुरा खोज्न जाँदा पनि उनीहरुमा सङ्क्रमण हुनसक्ने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउनुहुन्छ ।
भीडभाड भएको क्षेत्रमा कहिलेकाहीँ उनीहरु पुग्छन् ।
स्वास्थ्य सामग्रीको प्रयोग गर्नेबारे ज्ञान नहुँदा त्यसतो बेला सजिलै सर्ने सम्भावन रहन्छ । “कवाडी खोज्ने क्रममा, सङ्क्रमितसँगै खाना खाँदा, सङ्क्रमितबाट खानेकुरा वा पैसा लिँदा पनि सर्न सक्छ”, डा कार्कीले रासससँग भन्नुभयो, “¥याल, सिङ्गान, खकार लागेका मास्कलगायत सामग्री वा रुमाल, जुठो बोतल फ्याँकिएको हुनसक्छ, त्यस्ता सामग्रीमा निकै समयसम्म भाइरस रहनसक्छ, उनीहरुले त्यो टिपेर प्रयोग गरे भने पनि सर्छ ।” आजको यो समाचार आजको गोरखापत्रले छापेको छ ।