काठमाडौं, १७ भाद्र । नेपालमा दैनिक एक हजारको दरमा कोरोना भाइरसका संक्रमित थपिन थालेका छन् । साउनमा एक हजारभन्दा कम संख्यामा संक्रमित थपिने गरेकोमा भदौमा आइपुग्दा दैनिक एक हजारको दरमा वृद्धि हुन थालेको हो ।
भदौको १६ दिन १० हजारभन्दा बढी संक्रमित थपिइसकेका छन् । मृतकको संख्या पनि ह्वात्तै बढेको छ ।
कोरोना संक्रमितको पछिल्लो वृद्धि दरलाई केलाउँदा भदौभित्र कुल ५० हजार संक्रमित संख्या पुग्ने देखिएको छ । हिजोसम्म ४० हजार ५ सय २९ जना संक्रमित संख्या पुगेको । अब साँढे ९ हजार थपिएमा ५० हजार कट्छ । अहिले एक हजार दैनिक संक्रमित थपिएको अनुपातलाई आधार मान्दा भदौभित्र ५० हजार कट्ने सम्भावना बढी छ ।
कुल मृतक संख्या २३९ पुगेको छ । १६ भदौसम्म १३४ जनाको संक्रमणबाट मृत्यु भएको छ । यसअघि साउन महिनासम्म १०४ जनाको मृत्यु भएको तथ्यांक थियो । यही अनुपातमा संक्रमितको मृत्यु भइरहे भदौभित्र ४ सय जनाको मृत्यु भइसकेको प्रक्षेपण छ ।