Logo

मोदीको ट्विटर ह्याक भएको ट्विटरद्वारा पुष्टि



नयाँदिल्ली, भदौ १८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको ट्विटरले नै पुष्टि गरेको छ।

ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in  बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो।

सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार बिहीवार बिहान ३ः१५ बजेतिर मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो। ह्याक भएपछि गरिएका सबै ट्वीटहरू मेटिएको बीबीसीले उल्लेख गरेको छ ।

गत जुलाई महिनामा पनि विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको ट्विटर ह्यान्डलहरू ह्याक भएका थिए।

समाचारसंस्था रोएटर्सका अनुसार ट्विटरले एउटा विज्ञप्तिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको सूचना पाएको र सुरक्षाका लागि आवश्यक कदम चालिएको उल्लेख छ।

ट्विटरकी एक प्रवक्ताले ट्विटरले उक्त विषयको जाँच भइरहेको र अन्य ट्विटर ह्यान्डल प्रभावित भएकोबारे जानकारी नभएको बीबीसीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ।

मोदीको निजी वेबसाइटका लागि प्रयोग हुने उक्त ह्यान्डललाई २५ लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका थिए।

तर मोदीको निजी ट्विटर खाता भने सुरक्षित छ। त्यसमा ६।१ करोड फलोअर छन्।

 



प्रतिक्रिया दिनुहोस्