Logo

खाडी मुलुक छिर्न ‘हलाल’ सर्टिफिकेट लिने प्रक्रियामा नेपालका अलैंची व्यवसायी



विराटनगर, भदौ २१ । नेपाली अलैंची सबभन्दा बढी खपत हुने खाडी मुलुकहरूमा ‘हलाल’ सर्टिफिकेट प्राप्ति प्रक्रियामा अलैंची व्यवसायीहरूले पहल अगाडि बढाएका छन् ।

कतारमा नेपाली अलैंचीले ‘हलाल’ सर्टिफिकेट पाए नेपालकै ट्रेडमार्कमा निर्यात हुनेछ । यसले नेपालमा खस्कँदै गएको अलैंचीको मूल्यलाई सुधार गर्नेछ । ‘हलाल’ सर्टिफिकेट कतारले दिने अग्र्यानिक रजिस्टर हो, जुन त्यहाँको नियमअनुसार उत्पादन भएको हुनैपर्छ ।

नेपालको अलैंची ‘एभरेस्ट बिग कार्डामम’लाई पाकिस्तानले रजिस्टर गर्दै स्वीकृति दिएपछि अब त्यहाँ नेपाली नामबाटै अलैंची विक्री हुनेछ । तर, भारतमा ३ वर्षदेखि नेपालको अलैंचीको ब्रान्ड दर्ता प्रयास भए पनि त्यो प्रक्रियामै छ ।

विश्व बजारमा नेपाली अलैंची अहिले पनि भारतीय उत्पादनका रूपमा विक्री हुँदै आएको अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की बताउँछन् । नेपालबाट ९५ प्रतिशत अलैंची भारत जान्छ । भारतका व्यवसायीको हातमा पुगेको नेपाली अलैंचीमा त्यहाँको उत्पादनको ट्याग लागेपछि मात्र खाडी मुलुक निर्यात हुँदै आएको छ ।

हलाल सर्टिफिकेट प्राप्त गर्न अलैंचीको अग्र्यानिक उत्पादन, हातमा पन्जा लगाएर मात्र त्यसको गोडमेल र टिपाइ गर्नुपर्ने, अलैंची उत्पादन क्षेत्रमा सुगुरपालन पूर्ण बन्देज भएको हुनुपर्नेलगायत मापदण्ड रहेको कार्कीले जानकारी दिए ।

सरकारले २०७३ साल असार १९ गते अन्तरराष्ट्रिय बजारमा नेपालकै नाममा निर्यात गर्ने उद्देश्यले अलैंचीको ट्रेडमार्क बनाएको थियो । त्यसको ४ वर्षपछि पाकिस्तानले त्यो ब्रान्डलाई स्वीकृति दिएको छ ।

इलामको चियाभन्दा पहिले अलैंचीको ट्रेडमार्कलाई दक्षिण एशियाली देश पाकिस्तानले स्वीकृति दिएको हो ।

अध्यक्ष कार्कीका अनुसार भारत, पाकिस्तान र यूएई नेपाली अलैंचीको सबभन्दा बढी खपतकर्ता मुलुक हुन् । यी तीनओटै देशमा टे«डमार्कका लागि पठाइएको भए पनि पाकिस्तानले पहिले स्वीकृति दिएको हो । ट्रेडमार्क कार्यान्वयनपछि अलैंचीको उत्पादन प्रोशेसिङमा नियमअनुसार गर्नुपर्छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot