Logo

कोरोनामुक्त प्रहरी भन्छन्– मनोबल उच्च पार्दा सजिलै जितिन्छ



काठमाडौँ, २२ भदौ: प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित भए ।

कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो प्रभावितको उद्धार, जिल्लामा अतिविशिष्ट पाहुनाको आउजाउ, नियमित हुने बैठक÷छलफल, अपराध नियन्त्रणका क्रममा हुनुपर्ने दौडधूपका क्रममा उनी पनि सङ्क्रमित हुन पुगे ।

“शुरुमा कार्यालयका केही प्रहरीलाई ज्वरो आयो, उनीहरुको स्वाब परीक्षण गराउँदा कोभिड–१९ देखियो, साउन ७ मा मैले पनि स्वाब परीक्षण गराएँ, मेरो पनि पोजेटिभ रिपोर्ट आयो”, कँडेलले सुनाए , “त्योबेला कार्यालयका मात्रै ३८ जना सङ्क्रमित भेटिए ।” होम आइसोलेशनमा बसेर उच्च मनोबलका साथ कोरोनालाई पराजित गरेका उनले बेसार पानी र जडीबुटीलाई प्राथमिकता दिएको अनुभव सुनाए । “आयूर्वेद चिकित्सकको सल्लाहमा जडीबुटी तथा आयुर्वेदिक औषधि खाएँ, बोझो, गुर्जाे उमालेर र तातो खानेकुरा खाएँ, शरीरलाई तातो राख्न नियमित व्यायाम पनि गरेँ”, कँडेलले अनुभव सुनाउँदै भने, “आवश्यक सावधानी र उच्च मनोबल बनाउँदा सजिलै जितिने रहेछ ।”

शरीरमा लक्षण देखिएन, तर समाजले लगाएको लाञ्छनाले भने उनको मनमा नमीठो चोट प¥यो । सङ्क्रमण नभएका प्रहरीलाई सामान दिन हिचकिचाउने, कुनै चिज लिन जाँदा पसल नै बन्द गर्ने अवस्था देखिए । त्यसबाट प्रहरी कर्मचारी हतोत्साही भएनन् । सामाजिक दूरी कायम गर्न सके र मास्क नियमित लगाएमा सर्ने सम्भावना अत्यन्तै कम हुन्छ भन्ने कुरा समाजमा चेतना नपुगेको सङ्क्रमित प्रहरीले अनुभव गरेका छन् ।

कोभिड–१९ को महामारीका क्रममा अग्रपङ्क्तिमा रहेर जनताको स्वास्थ्यसँगै मुलुककको शान्ति-सुरक्षामा खटिनेमध्ये कँडेलजस्तै धेरै प्रहरी छन् । कोरोना भाइरसको महामारीकाबीच प्रहरी सक्रिय छन् । सङ्कट व्यवस्थापनसँगै सडक र शहर सुरक्षा, विपद् उद्धार र दैनिक कार्यमा पर्ने अन्य शान्ति सुरक्षाका कममा प्रहरी व्यस्त छन् । आर्कतर्फ यसरी सरकारको आदेश पालनामा अहोरात्र खटिँदा सङ्क्रमित हुने क्रम बढ्दो छ ।

कर्तव्यपालनाकै क्रममा थाहै नपाइ कोरोना सङ्क्रमित हुनुपर्दाको मानसिक पीडा उनीलाई अरु मानिसलाई झैँ नहुने कुरै भएन । तर सङ्क्रमणमा परे पनि फेरि राष्ट्रसेवामा फर्कने दरिलो आँटसहित आइसोलेशन कक्षमा आम मानिस झैँ बसे । अनि उच्च मनोबलका साथ कोरोना भाइरसलाई जितेर धमाधम कार्यस्थलमा फर्कदैछन् ।

समाजसेवामा सक्रिय रहेको गुण बिर्सेर सङ्क्रमित बन्दा केहीले सामाजिक दुव्र्यवहारको पीडाको अनुभव भने सङ्गालेका छन् । प्रहरीको शरीरिक स्फूर्ती, आत्मबल र सचेत मनस्थितिका अघि कोरोना भाइरस कमजोर नै बन्यो । जसका कारण अहिलेसम्म जतिलाई सङ्क्रमण भयो सबै झन् तन्दुरुस्त बनेर कर्तब्य पालनामा उक्रन सफल भए ।

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनालाई परास्त गर्न राज्यले तय गरेको रणनीति मुताविक उनीहरु सङ्क्रमणमुक्त भएपछि त्यसविरुद्धको मोर्चालाई अझै सशक्त पार्न कस्सिएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी बरिष्ठ उपरीक्षक कुबेर कडायत कोभिड–१९ बाट नागरिकलाई जोगाउने राष्ट्रिय सङ्कल्पप्रति सङ्क्रमणमुक्त कर्मचारीमा देखिएको लगाव र समर्पण भावले अन्य प्रहरीलाई हौसला मिलेको बताए ।

मुलुकभर शनिबारसम्म ४५ हजारमा कोभिड–१९ देखिएको छ । त्यसमध्ये दुई हजार बढी नेपाल प्रहरी सङ्क्रमित भएका छन् । समग्रमा निको हुने दरको तुलनामा प्रहरीमा भने बढ्दो क्रममा रहेको देखिएको छ । उच्च मनोबलका कारण निको हुने दर बढिरहेको र कोरोनाविरुद्ध सहज जीत हासिल गरिरहेको कडायतले जानकारी दिए ।

विश्वमा पहिलोपटक कोरोना देखिएको मुलुक चीनको उहानबाट आएका एक नेपालीमा गत वर्षको माघ ९ गते कोभिड– १९ देखिएको थियो । सङ्क्रमण रोक्न सरकारले चैत ११ देखि घोषणा गरेको बन्दाबन्दी चार महिनापछि साउन ६ गतेदेखि अन्त्य भयो । त्यसपछि एक्कासी सङ्क्रमण फैलिँदा त्यसको रोकथामका लागि भदौको शुरुदेखि नै जिल्लाजिल्लामा निषेधाज्ञा जारी छ ।

सरकारको निर्णय र निर्देशनअनुसार सबै गतिविधिको अग्रपङ्क्तिमा खटिएका नेपाल प्रहरी सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमित हुन बाट जोगिएनन् । प्रहरीमाथि राज्यको शान्तिसुरक्षा कायम गर्ने महत्वपूर्ण दायित्व छ । समाजका हरेक गतिविधिमा प्रहरीले अग्रमोर्चा सम्हालिरहेको हुन्छ । विगतमा क्वारेन्टिनबाट भागेका व्यक्ति नियन्त्रण लिन, अपराध नियन्त्रण, आन्दोलन वा आपतकालीन अवस्थालगायत जुनसुकै समयमा पनि प्रहरी आफ्नो भूमिकाबाट पछि हट्न पाउँदैन । त्यस्तो जटिल परिस्थितिमा सामाजिक दूरी कायम गर्न सकिँदैन ।

कोरोनाकालमा देशका धेरै जिल्लामा पटकपटक आन्दोलन भयो । बाढी÷पहिरामा परेकाको उद्धारमा प्रहरीले चाहेर पनि मापदण्ड प्रयोग गर्न सकेन । केही दिनअघि ललितपुरमा रातो मित्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा प्रहरीले कुटाई नै खानुपरेको थियो । यस्तैयस्तै घटनाका कारण प्रहरी कोरोनाबाट जोगिन सकेन ।

कोभिड–१९ सङ्क्रमण रोकथामकै लागि नेपाल प्रहरीले बनाएको केन्द्रीय हेल्थ डेस्कका स्रोतव्यक्ति प्रहरी उपरीक्षक वसन्त रजौरे पनि कोरोनालाई परास्त गरेर कार्यक्षेत्रमा खटे । साउन २६ देखि भदौ ४ सम्म उनले कोरोनाको सामना गरे । उनले भने, “मलाई सङ्क्रमणको कुनै महसुस भएन, मनोबल गिराउनुहुन्न ठीक हुन्छ ।” कोरोना लागेपछि सखापै भयो भन्ने जस्तो प्रचार भएकोमा उनी दुःखी छन् ।

चिकित्सकले कोरोना लाग्दा सावधानी अपनाउँदा, उच्च मनोबल पार्दा र रोग प्रतिरोधात्मक क्षमता बढाउने घरेलु उपाय अपनाउँदा जोखिम कम हुने बताउँदै आएका छन् । प्रहरी उपरीक्षक रजौरेले पनि त्यही प्रक्रिया अपनाए । “कोरोना जसलाई पनि लाग्न सक्छ, सावधानी अपनाउने हो, लागिहाले पनि डराउनु आवस्यक छैन, सजिलै जित्न सकिन्छ”, उनले सुझावसहितको अनुभव साटे ।

होम आइसोलेशनमा बस्दा रजौरे बिहानभित्रै हिँडडुल गर्थ्य । नियमित कागती पानी, बेसार, अदुवा, मेथी, तुलसी, टिमुर, लसुन हालेर पानी पिउने र गुर्जाे कुटेर खाने गर्थ्य । कहिलेकाही उनले भिटामिन सि पनि प्रयोग गरेको सुनाए । “रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भनेर म ज्वानोको झोल र फलफूल पनि खान्थेँ, राति सुत्ने बेलामा बेसार हालेर दूध नियमित खाएँ, त्यसैको कारण होला कोरोनाविरुद्ध सहज जीत भयो”, उनले थपे ।

बालाजु वृत्तका प्रहरी निरीक्षक गम्भीरजङ्ग थापा विदेशबाट आएका नेपालीलाई राख्ने यति होल्डिङ सेन्टरको सुरक्षामा खटिने क्रममा सङ्क्रमित भएका हुन् । शुरुमा त्यहाँ खटिएका नेपाली सेनामा कोरोना देखियो । त्यसपछि प्रहरीको स्वाब परीक्षण गर्दा एक असइलाई कोरोना देखियो । असार २६ गते थापाको स्वाब परीक्षणको प्रतिवेदन पोजेटिभ आयो ।

उच्च सावधानी अपनाउँदा अपनाउँदै पोजेटिभ हुँदा उहाँलाई शुरुमा आश्चर्य पनि लाग्यो । “कोरोना लागेको र मानिस मरेको सुन्दा डर लागेको थियो, आफैँले अनुभव लिएपछि केही होइन रहेछ भन्ने लाग्यो, लापरवाही गर्नुहुन्न, ख्याल ग¥यो भने रुघाखोकी जस्तै हो”, थापाले सुनाए । ससस्त्र प्रहरी अस्पताल बलम्बुको आइसोलेशन शय्यामा बस्दा औषधिका साथमा उहाँले बेसार र अदुवा पानी टुटाउनुभएन । डराउँदा, कमजोर महसुस गर्दा प्रतिरोधी क्षमतामा असर पर्न सक्नेतर्फ उनले सुझाव दिए ।

प्रहरी प्रधान कार्यालयका सवारी महाशाखामा काम गर्ने प्रहरी सहायक निरीक्षक किसनबहादुर थापालाई कोरोना पराजित गर्न १५ दिन लाग्यो । साउन १५ देखि ३० गतेसम्म उनी आइसोलेशनमा थिए । राजधानीमा हुने भिडभाड नियन्त्रणदेखि नारा, जुलुस, धर्ना रोक्न खटिएका साथीसँगै उहाँमा कोभिड–१९ देखियो । आफूसहित ५८ जनाले सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराएको बताउने थापा अधिकांशलाई लक्षण नै नदेखिएको बताए ।

“कोरोना लाग्योभन्दा डर नलागेको होइन, विस्तारै आफूलाई सम्हालेँ, मनोबल उच्च पारेँ र जितेँ”, थापाले सुल्झाउनुभयो, “हेल्चेक्रयाइँ गर्दै नगर्नुस्, लागिहाले रुघाखोकी नै हो भनेर लिनुस् ।” समाजले पनि सङ्क्रमितलाई हौसला दियो भने निको हुन सहयोग गर्ने उनको अनुभव छ ।
अहिलेसम्मको अवस्था विश्लेषण गर्दा कार्यस्थलमा खटिएका प्रहरी बढी सङ्क्रमित छन् । नेपाल प्रहरीका प्रवक्ता कडायतले भने, “प्रहरी कामबाट विमुख हुनै सक्तैन, सरकारले जारी गरेको र आफैँले बनाएको मापदण्ड अक्षरशः पालनामा स्पष्ट निर्देशन छ, यति हुँदाहुँदै पनि कोरोनाबाट जोगाउन सकिएन ।” प्रहरी कर्मचारीको सङ्क्रमण र निको हुने दर हेर्दा सङ्क्रमितले कत्ति पनि आत्तिनु हुन्न भन्ने पाठ सिकेको उनले बताए ।

निको भएका प्रहरी कर्मचारी अझै ऊर्जाका साथ काममा लागेका छन् । त्यो देख्दा अन्य प्रहरी कर्मचारीमा पनि मनोबल बढेको कडायतको ठम्याइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी उपत्यकाका प्रहरीमा कोभिड–१९ देखिएको छ । त्यसपछि प्रदेश १, २ र ५ मा भेटिए । प्राप्त विवरणमा दुई हजार १०० सङ्क्रमित प्रहरीमध्ये झण्डै ५० प्रतिशत (एक हजार) निको भएर काममा खटिइसकेका छन् । उनीहरुको मनोबल उच्च देख्दा अन्य प्रहरी कर्मचारीमा हौसला थपिएको छ ।

कार्यस्थलमा खटिएका, आपतकालीन उद्धारमा गएका, अपराध अनुसन्धानका क्रममा पुगेका, मानिस पक्राउ वा भीड नियन्त्रणका बेला, अभियुक्त पक्राउ गर्दा प्रहरीमा सङ्क्रमण भएको प्रहरीको निष्कर्ष छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot