काठमाडौं, भदौ २३ । चीनको जनमुक्ति सेनाले भनेको छ भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ।
तर कस्तो जबाफी कारबाही भन्ने उसले प्रस्ट पारेको छैन। जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक तथा अज्ञात सङ्ख्यामा चिनियाँ सैनिक मारिएपश्चात् दुई देशबीच तनाव झन् झन् बढिरहेको छ।
सोमवार भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पाङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ।
सो घटनाबारे भारतको प्रतिक्रिया आएको छैन। बीबीसीका अनुसार दुवै देशले सो क्षेत्रमा हजारौँ फौज परिचालन गरेका छन्।दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती राज्यबाट पाँचजना भारतीय नागरिकलाई कब्जामा लिएको विवरणपनि आएका छन्।
तीन दिनअघि अरुणाञ्चल प्रदेशका एक सांसदले ट्वीट गर्दै पहिलोपटक त्यस्तो आरोप लगाएका थिए।
भारत र चीनका विदेशमन्त्रीको भेटघाट हुने निर्धारण भएको समयमा पछिल्लो विवाद चर्किएको छ।