Logo

हटलाइन सेवा सञ्चालन गरिने



लमजुङ, २८ भदौ: जिल्ला प्रशासन कार्यालयले आगामी असोज १ गतेदेखि हटलाइन सेवा सञ्चालन गर्ने भएको छ । जिल्लाको शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापनलगायत प्रशासनको कार्य क्षेत्रसँग सम्बन्धित तथा जिल्लास्थित सार्वजनिक निकायका सेवा प्रवाह एवं कार्यक्षेत्रसँग सम्बन्धित गुनासो प्रभावकारी बनाउने उद्देश्यले वार्षिक सुधार कार्ययोजना अनुसार हटलाइन सेवा उक्त मितिदेखि सञ्चालन गरिने भएको हो ।

आज जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । नागरिकको समस्या तथा गुनासो सुन्न तथा समस्याको समाधान गर्न प्रशासनले २४ सै घण्टा हटलाइन सेवा सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । गुनासोको गम्भीरताका आधारमा शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी तत्कालै सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासो तत्कालै र अन्य गुनासो सम्बन्धित सार्वजनिक निकायसँगको समन्वयमा सम्बोधन गरिने भएको छ ।

जिल्लास्थित सरकारी कार्यालय तथा सार्वजनिक संस्थाको सेवा प्रवाह, विपद् व्यवस्थापनलगायतका विषयमा उजुरी तथा गुनासो गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हटलाइन नम्बर ०६६५२१३९९ र सिधै प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५६०१७७७७ मा समेत गुनासो तथा उजुरी दिन सकिने छ । गुनासो गर्दा तथ्य प्रमाणसहित हुनुपर्ने र गुनासोकर्ताको पहिचान गोप्य राखिने छ ।-रासस



प्रतिक्रिया दिनुहोस्