Logo

आन्तरिक उडान बढ्नेः ९० प्रतिशत अकुपेन्सी



काठमाडौं, १४ असोज । कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको मुलुकको आन्तरिक उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको छ। महामारीबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकल पालना गरी आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका हुन्। नजिकिएको दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या पनि थप्दैछन्।

उडानको पहिलो साता उत्साहवद्र्धक रहेको कम्पनीले उल्लेख गरेका छन्। तुलनात्मक रुपमा हवाई सेवा महामारीबाट सुरक्षित र चाँडो हुने भएकाले पनि यात्रुको आकर्षण बढेको हो। सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। शुरुआती चरणमा सातादिनसम्म सामान्य अवस्थाको उडानको तुलनामा १५ प्रतिशत मात्रै उडान गर्न पाउने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो। आगामी अक्टोबर १ तारिखदेखि आन्तरिक उडान सङ्ख्या बढाउने प्राधिकरणले तयारी गरेको छ। भदौ १६ देखि सञ्चालनमा आएको मुलुकको अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय यसअघि नै भइसकेको छ।

आन्तरिक उडान सञ्चालन गरिरहेका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत उडान अकुपेन्सी उत्साहवद्र्धक छ। सातादिनको अवधिमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको कम्पनीले उल्लेख गरेका छन्। चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या बढाउन प्राधिकरणसमक्ष उडान अनुमतिका लागि निवेदन दिएका छन्। प्राधिकरणले पनि हवाई व्यवसायीको मागबमोजिम उडान सङ्ख्या बढाउने निष्कर्षमा पुगेको समाचार आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot