Logo

कोरोना संक्रमितलाई कारबाही गर्ने सरकारको चेतावनी



असोज २३, काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्ला दिनमा उच्च संख्यामा संक्रमित थपिएपछि सक्रिय संक्रमित पनि २७ लाख नाघेका छन् । मृतकका संख्या आज ६ सय पुगेको छ । संक्रमितमध्ये ७३ हजार निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । नेपालमा पहिलो पटक कोरोना संक्रमित भेटिएको नवौँ महिनामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको हो ।

आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना रहेका छन् । काठमाडौँमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जना सक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योयो सँगै संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । तथ्यांकअनुसार नेपालमा निको हुनेको प्रतिशत ७२.५३ रहेको छ ।

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक जेष्ठ ४ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । पहिलो मृत्युको ५ औ महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो । पछिल्ला दिन संक्रमणबाट निधन हुनेहरुको मृत्युदर ०.६० प्रतिशत रहेकोे छ । देशभर संत्रmिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी आजको दिनमा संस्थागत आइसोलेशनमा ११ हजार १ सय ७६ जना र होम आइसोलेशनमा १५ हजार ८ सय ७७ जना रहेका छन् ।

हाल ३ सय १८ जना आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् । आज देशभरका क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् । आजको पिसिआर १३ हजार २ सय ७९ परिक्षण भएको छ ।

संक्रमितलाई कारबाहीको चेतावनी :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसे संक्रमण ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई मापदण्ड अनुसार आइसोलेसनमा बस्न अनुरोध गर्दै आइसोलेसनमा नवस्ने व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने बताएका छन् ।

पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसेको घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्न उनले आग्रह गरे । उनले कोरोना संक्रमणको शंका लागेर पिसिआर परीक्षण गर्न दिएका सबै व्यक्ति रिपोर्ट नआएमा घरमा क्वारेन्टाइनमा बस्न आग्रह गरे ।

एक जना सङ्क्रमित बाहिर निस्कँदा अरु धेरैलाई सङ्क्रमणको जोखिम हुने भएकोले सङ्क्रमित व्यक्ति स्वयं सचेत हुनुपर्ने र व्यक्तिले लापरवाही गरेमा परिवारका सदस्य तथा छिमेकीहरुले प्रहरीलाई खबर गर्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्