Logo

कोरोनाले जनता त्रासमा : के गर्दैछन् नेकपा र कांग्रेस ?



असोज २४, काठमाण्डौ । नेपालका राजनीतिक दलहरु कति गैरजिम्मेवार छन् भन्ने कुरा यतिबेला प्रष्ट भएको छ । मुलुक कोरोना महामारीको चपेटामा परेका बेला सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस घरझगडामै व्यस्त छन् । कोरोना नियन्त्रणका लागि हातेमालो गर्न छाडेर दलभित्रै किचलोमा रुमल्लिदा जनता भने कोरोनाको त्रासमा बाँचिरहेका छन् । सरकार पनि यही बेला जिम्मेवार बन्न सकेको छैन ।

संघीय सरकारको नेतृत्व गरिरहेको नेकपाले ६ वटा प्रदेशमा पनि सरकार संचालन गरिरहेको छ । स्थानीय तहको सरकारमा पनि नेकपाकै बाहुल्यता छ । तर तीनै तहका सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सकिरहेका छैनन् ।

कोरोनाले महामारीको रुप लिइसक्दा पनि सत्तारुढ दल जिम्मेवार बनेर सरकारको काम प्रभावकारी बनाउनतर्फ केन्द्रित हुन सकेन । अर्कोतर्फ दलका कार्यकर्तालाई कोरोना नियन्त्रणका उपायसम्बन्धमा जनतामाझ पठाउन पनि सकेको छैन । अरु केही नसके पनि जनचेतनामुलक काममा खटाउन सकिने सम्भावना छ । तर नेकपाले अहिलेसम्म त्यस्तो कुनै योजना बनाएको छैन ।

जसका कारण कोरोना संक्रमणले तीब्रता लिइरहँदा पनि नियन्त्रणको काम प्रभावकारी बन्न सकेको छैन । यतिबेला नेकपा कमजोर हुनुको कारण दलभित्रको आन्तरिक झगडा नै हो । नेकपाको नेतृत्व तहदेखि तल्लो तहसम्म नै विवाद छ । तत्कालिन नेकपा एमाले र माओवादीबीच एकता भएपछि निरन्तर नेकपा विवादमै रुमल्लिएको छ । यसै वर्षको चैतमा महाधिवेशन गर्ने घोषणा गरेको नेकपाले एकता प्रक्रिया नै टुङ्ग्याउन सकेको छैन ।

अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी ओली महाधिवेशनलाई लक्षित गरेर शक्ति संचयमा लागेको देखिन्छ । २०७२ सालमा भूकम्प गएपछि तत्कालीन एमाले, माओवादी र कांग्रेस तीनवटै दलका नेता–कार्यकर्ता उद्धार र राहतमा खटिएका थिए । तर यतिबेला दलहरुबीचको सहकार्य त परको कुरा दलभित्रै पनि एकता देखिएको छैन । सत्तारुढ दल मात्रै होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि कोरोना नियन्त्रणमा भूमिका खेलेको देखिदैन ।

बेलाबेलामा सरकारलाई दबाब दिनका लागि प्रेस विज्ञप्ति निकाल्ने र संचारमाध्यममा बोल्न पाउँदा सरकारको विरोध गर्नमै कांग्रेस सिमित देखिन्छ । कांग्रेसले पनि कार्यकर्तालाई कोरोनाविरुद्धको जनचेतनामुलक अभियानमा सक्रिय बनाउन सकेको छैन । कांग्रेसले यसै वर्षको फागुनमा महाधिवेशन गर्ने घोषणा गरेको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवादमै कांग्रेस फसेको छ । कोरोना भाइरस आफैँमा सरुवा भाइरस हो । जसले गर्दा मान्छेमान्छेबीच भेटेर केही गर्न मिल्दैन । तर प्रविधिको युगमा राजनीतिक दलहरूले डिजिटल माध्यमबाट समेत कोरोनाविरुद्ध सन्देश प्रचारप्रसार गर्न सक्छन् । दलका कार्यक्रम प्रचार गर्नुपर्दा सामाजिक संजाल तथा संचारमाध्यममा करोडौँ खर्च गर्ने दलहरु जनहितमा मौन बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्