Logo

कोरोनाको गति तीब्र : सरकार सुस्त



असोज २४, काठमाण्डौ । नेपालमा पहिलो व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको २ सय ६० दिनमा संक्रमितको एक लाख पुग्यो । पहिलो व्यक्तिमा संक्रमण माघमा भएको थियो । दोस्रो संक्रमित चैत १० गते पुष्टी भयो । लगत्तै सरकारले देश नै लकडाउन गर्यो । तर बाँकी कुनै पनि काम प्रभावकारी गर्न सकेन । जसका कारण संक्रमण दिनप्रतिदिन बढ्यो । सरकार भने आफ्नै स्वार्थमा रुमल्लिरह्यो ।

गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको हो । दोस्रो व्यक्तिमा संक्रमण चैत १० गते पुष्टी भएपछि सरकारले देश नै लकडाउन गर्यो । चार महिनाको लकडाउन अवधिमा सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको आरोप लागिरह्यो । उता संक्रमितको संख्या दिनप्रतिदिन बढिरह्यो ।

लकडाउन अवधिमा स्वस्थ्य उपचारका लागि चाहिने पूर्वाधार विस्तार हुन सकेन । न त कोरोनाको पिसिआर परिक्षणको संख्या नै बढाइयो । जसका कारण अहिले दैनिक हजारौँको संख्यामा संक्रमित थपिइरहेका छन् । जेठ तीन गते संक्रमितको पहिलो निधन भएको थियो । असोज २३ गतेसम्म आइपुग्दा ६ सय जना संक्रमितको मृत्यु भइसकेको छ । नेपालमा यसरी संक्रमण र मृत्यु बढ्ला भनेर सरकारले कहिलै पनि सोचेन । जनतामा पनि भ्रम फैल्याइरह्यो ।

जसका कारण अहिले कोरोना संक्रमण नियन्त्रणबाहिर गइसकेको छ । संघीय राजधानीकै अस्पतालहरूमा आइसोलेसन र आईसीयू बेड अभाव हुन थालिसक्दा पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति र मन्त्रिपरिषद्को ध्यान संक्रमण रोकथाममा केन्द्रित छैन । कोरोना संक्रमितको संख्या न्यून हुँदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिको बैठक पटक पटक बस्थ्यो । तर अहिले संक्रमण अत्याधिक संख्या भइरहँदा सिसिएमसीको अस्तित्व नै छ कि छैन भन्ने अवस्था देखिएको छ ।

कोरोना नियन्त्रणकै लागि गठन गरिएको सीसीएमसी त असफल भयो भयो, सरकार पनि कोरोना नियन्त्रणमा सक्रिय हुन सकेको छैन । मन्त्रिपरिषद्को बैठक नियमित भइरहेको छ  र नियुक्ति, पदावधि थप, अस्थायी कर्मचारी दरबन्दी थप, रोकिएका परीक्षा सञ्चालनलगायत विषयमा मात्रै निर्णय गरिरहेको छ । पछिल्ला दिनहरुमा बैठक बस्दा त मन्त्रीपरिषदमा कोरोना नियन्त्रणबारे छलफल नै हुन छाडेको छ ।

नियन्त्रण गर्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत जनस्वास्थ्य मापदण्ड पालना गर्न बारम्बार आग्रह गर्ने काम मात्रै सरकारको तर्फबाट भइरहेको छ । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा संक्रमितको संख्या अत्याधिक बढेकाले बढेकाले सामाजिक दूरी कायम गर्न, मुख र नाक छोपिने गरी अनिवार्य मास्क लगाउन र साबुन पानीले बारम्बार हात धुन मन्त्रालयले आग्रह गर्दै आएको छ । कोरोना नियन्त्रण गर्न नसकेको सरकारले संक्रमितका लागि उपचार गर्न अस्पताल र बेड अभाव भएकाले घरमै बसिदिन बारम्बार आग्रह गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्