Logo

औषधि पसल अनुगमनः सञ्चालकहरू भागाभाग, ६ ओटा पसल सिल



धरान, कार्तिक २ । धरानमा औषधि पसलहरूबाट बिरामी ठगिएको गुनासो बढ्दै गएपछि औषधि व्यवस्था विभागले अनुगमन थालेको छ । बिहीवार अनुगमनका लागि विभागको टोली पुगेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडिका औषधि पसलका सञ्चालक भागाभाग भएका छन् ।

केही दिनअघि यस क्षेत्रको बिर्तामोड मेडिकल हलले एक बिरामीलाई ठगेको समाचार सार्वजनिक भएपछि औषधि व्यवस्था विभाग विराटनगरको चासो बढेको थियो । अनुगमनको टोली आउँदै गरेको खबर सुनेपछि प्रतिष्ठान गेट बाहिरका अधिकांश औषधि पसल बन्द गरेर भागेका थिए ।

पसल बन्द गरेर सञ्चालक फरार भएका मेडिकलको सूची तयार गरेर विभागले लगेको छ, जसमा संस्कृति फार्मेसी, जमुना फार्मेसी, जनसेवक मेडिको, पूर्णिमा मेडिकल हल, हार्दिक फार्मेसी, बबिता मेडिकल, सहारा मेडिकल, मारुती मेडिकल, सुविधा फार्मेसी र गार्जिन फर्मा रहेका छन् ।

यस्तै, माही मेडिकल हल, सुप्रिया फार्मेसी, सेलिजा फार्मेसी, सुनकोशी फार्मेसी, सागर औषधि पसल, दीक्षा मेडिकल र प्रियंका मेडिकल हल छन् ।

विभागका प्रमुख सञ्जीव कट्टेलका अनुसार धरानको बीपी गेट बाहिरका मेडिकलहरूबारे उपभोक्ताको गुनासो आएकाले अनुगमन गरिएको हो । अनुगमनमा आएको थाहा पाएपछि पसल बन्द गरेका मेडिकलहरूलाई इलाका प्रहरी कार्यालय मार्फत विभागमा उपस्थित गराउन पत्राचार गरिने उनले बताए । अनुगमन गरिएका पसलहरूमध्ये ६ ओटा सिल गरिएको पनि विभागले जानकारी दिएको छ । विभागका अनुसार प्रनित फार्मेसी, पञ्चमुखी फार्मेमी, नमस्कार फार्मेसी, फ्रेन्ड्स फार्मेसी र जनता फार्मेसी सिल गरिएको छ ।

कट्टेलका अनुसार सिल गरिएका मेडिकलहरूमा अधिकांश लाइसेन्स प्राप्त भएका सम्बन्धित व्यक्ति बसेका थिएनन् । मेडिकल पसलमा फार्मेसी पढेर लाइसेन्स प्राप्त गरेका व्यक्ति बसेर मात्र औषधि बेच्न पाउँछन् । सिल गरिएका पसलहरूलाई ५ दिनभित्र उपस्थित गराइने र बयान लिइने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्