कात्तिक १७, काठमाण्डौ । पार्टीभित्र देखिएको असमझदारी र पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिपक्षि नेपाली कांग्रेसले छलफल सुरु गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारीसहितका नेताहरुको हाइकमाण्ड बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमति, कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने बिषय तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको हो ।
बैठकपछि कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत्तले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक मंगलबार पनि बस्ने र ठोस निष्कर्षमा पुग्ने दावी गरे । सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए । पार्टी भित्र देखिएको असमझदारीलाई केन्द्रीय समिति बैठक अघि नै अन्त्य गर्नेगरि छलफल अघि बढेको महतले बताए ।
महतले पदाधिकारी बैठकले गरेका निर्णयहरुलाई केन्द्रीय समितिबाट पारित गर्ने तयारी भएको जानकारी दिए । बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका थिए । देउवाले चार वर्षसम्म बनाएका विभागहरु १४औं महाधिवेशनको मिति तय भइसकेपछि गठन गरेका छन् । यो विधान विपरीत भएकाले खारेज गर्नुपर्ने पौडेल समूहको माग छ ।
पौडेल समूहले विभाग गठन, क्रियाशील सदस्यता, समाजयोजनबारे २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित १२ असोजमा पार्टीमा १६ बुँदे विरोधपत्र बुझाएको थियो । १९ असोजको केन्द्रीय कार्यसमिति बैठक अघि त्यसबारे छलफल गर्न १७ असोजमा बैठक बसेको थियो ।
तर अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसको सबै बैठक विथोलियो । २१ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका देउवाले त्यही छलफलको निरन्तरताका रुपमा सोमबार नेताहरुसँग छलफल गरेका हुन् ।
केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु भएको बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी थिए । बैठक भोलि पनि बस्नेछ । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।