Logo

नरवाणेको भ्रमणले नेपाल-भारत सम्बन्धमा कस्तो असर पार्ला



काठमाडौं, १८ कात्तिक । भारतका स्थल सेना प्रमुख एम. एस. नरवाणे बुधबारबाट तीन दिवसीय नेपाल भ्रमणमा आउँदैछन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा आउन लागेका हुन् ।

नेपाल र भारतबीच सीमा समस्या रहेको अवस्थामा नरवाणेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । दुई देशबीच जुनसुकै समस्या रहँदा पनि जनस्तर र सैन्यस्तरमा सम्बन्ध प्रगाढ नै रहन्छ भन्ने सन्देश हो यो । सैन्य तहमा दुई देशबीच घनिष्ठ सम्बन्ध छ । नेपाली सेनाका प्रधानसेनापति भारतको सेनाका मानार्थ सेनापति र भारतका सेनापति नेपाली सेनाको मानार्थ सेनापति रहने परम्परा रहिआएको छ ।

नरवाणेले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनापतिको उपाधि लिनेछन् । यसबाहेक उनले समकक्षी पूर्णचन्द्र थापालगायत उच्च सैनिक अधिकृतहरुसँग विशेष भेटवार्ता गर्नेछन् ।

नरवाणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

नेपाल र भारतबीचको सैन्य सम्बन्धले दुई देशबीच राजनीतिक सम्बन्धमा समस्या आउँदा पनि आपसी सम्बन्धलाई मजबुत बनाउने गरेको छ । विगतमा नाकाबन्दीको बखत समस्या समाधान गर्न सैन्य तहबाट भुमिका भएको थियो । यसपटक सीमा समस्याले उत्पन्न समस्या समाधानमा पनि सैन्य सम्बन्धले भुमिका खेल्न सक्छ ।

भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले भारतका सेनाप्रमुख नरवाणेको भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot