Logo

पर्वतीय हिम श्रृङ्खलामा पर्यटक भित्र्याउनेः मन्त्री फुँयाल



मकवानपुर, २७ कात्तिक: वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले राष्ट्रिय गौरवको आयोजना निर्माण एंव पर्वतीय हिम श्रृङ्खला दृश्यावलोकणका लागि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने गुरुयोजना तयार गरी त्यसको कार्यान्वयमा प्रदेश सरकार लागेको बताएका छन् ।

थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा आज आयोजित एक कार्यक्रममा उनले जनताको आधारभूत आवश्यकता पूरा गर्ने क्रममा प्रदेश सरकारले यसै चालू आर्थिक वर्षभित्र राजकूलोको निर्माण, कृषि उत्पादन र आर्थिक समृद्धिलाई गतिशील तुल्याउन बजेट विनियोजन गरिसकेको बताए ।

सो अवसरमा मन्त्री फुँयालले थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित ऐतिहासिक पर्वतीय ताल तथा वडा नं ३ गोपाली गाउँस्थित पुरानो ढुङ्गे धाराको अवलोकन गरी यसको तत्काल मर्मतसम्भार गर्न नगरपालिकाका प्रमुख लवशेर विष्टलाई निर्देशन पनि दिए ।

नगरप्रमुख विष्टले नगरापालिका क्षेत्रमा पर्ने दामन र सिमभञ्ज्याङमा पर्यटकीय पूर्वाधारको विकास गर्न तथा दुर्गम भेगका बस्तीमा खानेपानी, सडक, विद्युतीकरण र मौसमी तरकारी खेतीका लागि आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

यसैगरी, मन्त्री फुँयालले थाहा नगरपालिका–३ कुन्छालदेखि चित्लाङसम्म जोड्ने साढे २२ किलोमिटर निर्माणाधीन सडकको पनि आज स्थलगत अवलोकन तथा निरीक्षण गरे ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot