Logo

सगरमाथा आरोहण सुरु, १० जनाको टोलीले टेक्यो चुचुरो



काठमाडौं, वैशाख २९ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि शिखरसम्मको बाटो खुलेको छ । शिखरसम्मको बाटो बनाउन शुक्रबार विहान ५ बजे चौथो शिविरवाट सगरमाथाको चुचुरोतर्फ लागेको अनुभवी शेर्पाहरुको टोली बेलुका आठ बजेर १५ मिनेटमा चुचुरोमा पुगेको छ ।

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार १० जना अनुभवी शेर्पाहरुको टोलीले चुचुरोसम्म बाटो बनाएर यो वर्षको आरोहणको सुरुवात गरेका छन् । उनले भने, ‘यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहण गर्न दोस्रो शिविरदेखि चुचुरोसम्मको हिमाली बाटो बनाउन पर्वतारोहण सञ्चालक सङघलाई जिम्मेवारी दिइएको थियो । उक्त सङ्घबाट छनौट भएको सेभेन समिट ट्रेक्सबाट खटिएको टोलीले चुचुरोसम्मको बाटो तयार पारेको छ ।’

अनुभवी शेर्पाहरुको समूहले चुचुरोसम्मको बाटो तयार पारेसँगै विभिन्न आधार शिविरमा रहेका आरोहीहरु अव विस्तारै चुचुरोतर्फ लाग्न थालेको उनले बताए । उनका अनुसार हरेक वर्ष सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बनाउँदै आएको छ ।

यस वर्ष चैत १ गते आधार शिविरमा क्षमा पूजा गरी हिउँ कुल्चिएर अघि बढेका आठ जना अनुभवी शेर्पाको समूहले दोस्रो शिविरसम्मको बाटो तयार पारेका थिए । सेभेन समिटबाट दोलखाका मिङ्मार धोन्डुप भनिने डेन्डी शेर्पाको नेतृत्वमा खटिएको सोलुखुम्बुका तेन्जिङ ग्याल्जेन शेर्पा, पाम दोर्जी शेर्पा र नामग्याल दोर्जे तामाङ्ग तथा संखुवासभाका पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा रिन्जे शेर्पा, दावा शेर्पा, सुक बहादुर तामाङ्ग र लाक्पा रिन्जी शेर्पाको टोलीले दोस्रो शिविरदेखि चुचुरोसम्मको बाटो बनाएको हो ।

गत वर्ष वैशाख ३० गते दिउँसो १ बजेर ५२ मिनेटमा इमाजिन नेपालका तर्फबाट गएको १० जना अनुभवी शेर्पाहरुको समूहले चुचुरोसम्मको बाटो तयार गरेको थियो । यस वर्ष सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ४१४ आरोहीले अनुमति लिएका छन् । जसवाफत सगरमाथामा अनुमती दिए वाफत ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपियाँ सलामी दस्तुर (राजश्व) सङ्कलन भएको विभागले जनाएको छ । गत वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४७८ जनाले अनुमती लिएका थिए । जुन हालसम्मकै सर्वाधिक हो ।



प्रतिक्रिया दिनुहोस्