Logo

नेकपालाई दुर्घटनाबाट बचाउन यी सक्रिय



काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीलाई दुर्घटनाबाट जोगाउन समय घर्किदैछ । १३ मंसिरका लागि डाकिएको सचिवालय बैठक अगावै कुनै सहमतिको बिन्दु ननिस्किए गम्भीर अवस्था आउन सक्छ । त्यसैले यसबीच नेकपाको एकता जोगाउन शिर्ष देखि दोस्रो र तेस्रो पुस्ताका नेताहरुको दौडधुप चलेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वारपारको लडाईमा छन् । दुवैमा राजहठ बढेको छ । आ आफ्नो अडानबाट पछि नहट्ने संकेत दिइसकेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि टसमस हुने देखिदैनन् । वामदेव गौतमले त ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रतिज्ञा गरेको सुनिदैछ । झलनाथ खनाल अब पछि हटिदैन भन्दैछन् । यस्तो अवस्थामा एकता जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् ।

प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुमध्ये स्थायी कमिटी सदस्य सुवास नेम्वाङको सक्रियता बढेको छ । उनी कहिले खुमलटार त कहिले धुम्बाराही पुगेर प्रचण्डलाई भेट्न छाडेका छैनन् । कोटेश्वर पुगेर माधवकुमार नेपालसँग पनि भेट्छन् । जसरी हुन्छ पार्टी फुट्न नदिने पक्षमा नेम्वाङ उभिएका छन् । उनले सम्भावित संसद बिघटन र मध्यावधि चुनाव घोषणाको सम्भावना टारेको बुझिएको छ ।

ओलीका विश्वासपात्रमध्ये महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निकै सक्रिय छन् । पौडेलले आजै धुम्बाराहीमा प्रचण्डसँग भेटे । उनले अवस्था निकै गम्भीर भएको सुनाए । पौडेलले भैंसेपाटीमा छिमेकी बामदेव गौतमलाई पनि भेटेर सहमतिको पहल गर्न आग्रह गरे । शंकर पोखरेलले पनि प्रचण्डलाई पटक पटक भेटेका छन् ।

पछिल्लो समय ईश्वर पोखरेल पनि सक्रिय भएका छन् । उनले पनि आज धुम्बाराहीमा प्रचण्डलाई भेटेका छन् । पोखरेल पार्टी फुट जोगाउन यसअघि खासै सक्रिय थिएनन् । एकाएक सक्रिय भए ।

नेकपालाई दुर्घटनाबाट जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएकी छिन् । उनले उक्त पदमा बसेर खुलेआम यो भूमिका निर्वाह गर्न त मिल्दैन तर जुन पार्टीमा लामो राजनीतिक जीवन बिताइन् त्यसको नाजुक हालत हेर्न नसकेर बचाऊमा लागेकी छिन् । भण्डारीले पटक पटक प्रधानमन्त्री ओलीसँग शितलनिवासमा परामर्श गरेकी छिन् । प्रचण्ड, बामदेव गौतम देखि वर्षमान पुनसमेतलाई बोलाएर सहमतिको आग्रह गरेकी छिन् ।

चिनियाँ राजदूत होउ यान्छीले पनि नेकपा नेताहरुसँग कुराकानी बढाएकी छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै भेटेकी छिन् । यान्छीले यसअघि नेकपाभित्र संकट आउँदा पनि शिर्ष नेताहरुसँग भेटेर सहमतिको आग्रह गरेको खुलेको थियो । यसपटक पनि उनले सक्रियता बढाएकी छिन् ।

नेकपाभित्र दोस्रो पुस्ताका योगेश भट्टराई र घनश्याम भुषाल समेत पार्टीलाई जोगाउन सक्रिय छन् । उनीहरु माधव नेपाल र बामदेव गौतमसँग सम्पर्कमा बसेर सहमतिको प्रयास गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्