काठमाडौं, ५ मंसिर । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् । यो वर्ष भने कोरोना भाईरसको संक्रमणको जोखिमलाई ध्यानमा दिएर खोला, नदि, ताल, तलैया र पोखरीमा भने छठ मनाउन निषेध गरिएको छ । काठमाडौं उपत्यकामा व्रतालुहरुले आफू बसेको घरको छतमा नै कृत्रिम पोखरी बनाई अघ्र्य सामग्री लिइ सूर्यलाई पूजा अर्चना गरेका छन् । अघिल्ला वर्षहरुमा काठमाडौंको कमलपोखरी, गौरीघाट बाग्मती, नख्खु लगायतमा ठूलो भीड लाग्ने गर्दथ्यो । तर, यस वर्ष भने सबै ठाउँ सुनसान छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले आज ब्रतालुहरुले घरको छतमै पोखरी बनाएर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेको तस्विर कैद गरेका छन् ।
अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ । यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दे अघ्र्य दिइन्छ ।
छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद् ऋतुको कात्तिक पष्ठीका दिन र अर्को वसन्त लागेको चैतको षष्ठीका दिन मनाइन्छ । सङ्ख्यात्मक दृष्टिले चैते छठ पर्वमा व्रत गर्नेको सङ्ख्या अपेक्षाकृत कम हुने गरेको छ । षष्ठी तिथिलाई विशेष खगोलीय अवसर मानिएको छ । सम्भाव्य कुप्रभावबाट रक्षा गर्ने सन्दर्भमा षष्ठी तिथिले रक्षाको सामथ्र्यका साथै अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास पाइन्छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम