Logo

कांग्रेस–ओली सहकार्य : हल्ला कि यथार्थ ?



मंसिर ८, काठमाण्डौ । सत्तारुढ दल नेकपा फुट्ने, नेताहरुबीच विवाद उत्कर्षमा, मिलनविन्दु भेटिएन भन्ने जस्ता चर्चा भएको धेरै भयो । यतिबेला त नेकपा फुट्छ र सत्ता समिकरण पनि फेरबदल हुन्छ भन्ने चर्चा चुलिएको छ । पार्टीभित्रको विवाद जटिल अवस्थामा पुगेका बेला प्रधानमन्त्री ओलीले शनिबार कांग्रेस सभापतिलाई सरकारमा सहभागि हुन आग्रह गरेको अर्को चर्चा सुरु भएको छ । पार्टी फुट्ने निश्चित भएरै ओलीले कांग्रेसको साथ खोजेका हुन् त भन्ने प्रश्न उब्जिएको छ ।

सत्तारुढ दल नेकपा फुट्ने, नेताहरुबीच विवाद उत्कर्षमा, मिलनविन्दु भेटिएन भन्ने जस्ता चर्चा भएको धेरै भयो । तर अहिले भने अवस्था निकै अप्ठ्यारो देखिन्छ । सत्ताधारी दल नेकपा विभाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेको भनिएको छ ।

शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेको कतिपयको दावी छ । तर यो दावी अहिलेसम्म पुष्टी भइसकेको छैन । यद्यपी नेकपाभित्रको विवादको अवस्था हेर्दा ओलीले कांग्रेसको साथ खोज्नैपर्ने बेला आएको हो कि जस्तो देखिन्छ । ओलीको प्रस्तावलाई देउवाले कुन रुपमा लिए वा के जवाफ दिए भन्ने पनि स्पष्ट भइसकेको छैन ।

तर ओलीले देउवालाई सरकारमा सहभागि भएर आफूलाई जोगाइदिन आग्रह गरेको हल्ला चलेसँगै नेपाली कांग्रेसका नेताहरुले प्रतिक्रिया दिन थालेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस सरकारमा नजादे दावी गरेका छन् । पाँच बर्षसम्म प्रतिपक्षीमा बस्न जनताले दिएको म्यान्डेड अनुसार आफुहरु बिपक्षीकै भूमिकामा रहने सिंहको भनाई छ । उनले नेकपाभित्रको विवादमा कांग्रेसका कुनै सरोकार नभएको भन्दै नयाँ सरकार गठनको हल्लामा कांग्रेसलाई नजोड्न समेत आग्रह गरेका छन् ।

नेता सिंहले मात्रै होइन, अन्य नेताहरुले पनि कांग्रेसमा नेकपाको विवाद समाधानको माध्यम बन्न नहुने बताइरहेका छन् । सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टी सभापति देउवा प्रधानमन्त्री ओली बिच भएको भेटघाटमा सत्ता साझेदारीको बिषयमा छलफल नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकता समेत नरहेको प्रष्ट्याएका हुन् ।

ओली र देउवा भेट भएकै दिन प्रवक्ता विश्वप्रकाश शर्माले पनि कांग्रेस पाँच वर्ष सरकारमा सहभागी नहुने दाबी गरेका छन् । शनिवार नै टुइटरमार्फत धारणा सार्वजनिक गर्दै शर्माले ओलीलाई कांग्रेस सांसदको टाउको नगन्न सुझाव दिएका थिए ।

नेकपाकै नेताहरुले पनि ओलीले सरकारमा कांग्रेसको साथ खोजेको भन्ने कुरा गलत भएको दावी गरेका छन् । ओली निकट नेकपाका नेता कृपासुर शेर्पाले प्रतिपक्ष दलका नेतालाई भेट्न स्वभाविक भएपनी पार्टी नै अलग गरेर प्रतिपक्ष दलसँग मिलेर सरकार चलाऊछु भन्ने कुरामा सत्यता नभएको बताए ।

आफुलाई अफ्ठेरो परेपछी अन्य नेताहरुलाई विभिन्न प्रलोभन देखाएर आफ्नो पक्षमा पार्न खोज्नु ओलीको पुरानै प्रवृत्ति हो । विगतमा आफ्नै दलका नेताहरुलाई फकाउने गरेको ओलीले यसपटक प्रतिपक्ष दलकै साहारा खोजेपछि तरंग सृजना भएको छ ।

ताप्लेजुगंको घुन्सामा नवनिर्मीत सामुदायिक स्वास्थ ईकाई भवनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

यसैबीच प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गर्दै उनले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको आरोप लगाए । ओलीले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए ।

देशको प्रगति हेरेर तर्सिएका केहीकेही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता रहेको उनको भनाई थियो । सरकार नढल्ने प्रष्ट पार्दै ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउछ र लोकप्रियता बड्छ भनेर उनीहरु आत्तिएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्