Logo

नेपालमा भारतीय कम्पनि सेरमले उत्पादन गर्ने अक्सफोर्ड भ्याक्सिन आउन सक्ने



काठमाडौं, १० मंसिर । विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन गर्ने भारतीय कम्पनि सेरम इन्स्टिच्युट अफ इन्डियाले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड भ्याक्सिनको उत्पादनको अनुमति पाएको छ । अक्सफोर्ड भ्याक्सिन तेस्रो चरणको परीक्षणको अन्तिम चरणको भएको र भ्याक्सिन प्रमाणित भएलगत्तै उत्पादन शुरु हुनेछ । त्यसपछि सेरमले पनि भ्याक्सिन उत्पादनलाई गति दिने बुझिएको छ ।

सेरमले अबको तीन महिनाभित्र भ्याक्सिन प्रयोगमा ल्याउने गरी काम गरिरहेको छ । उसले भारतीय बजारसँगै नेपाल र बँगलादेशमा पनि भ्याक्सिन उपलब्ध गराउन सकिने जनाइसकेको छ । सेरमले उत्पादन गर्ने अक्सफोर्ड भ्याक्सिन प्रतिडोज अधिकतम ५ सय भारु पर्न जान्छ । दुई डज लगाउनुपर्ने भएकाले अधिकतम एक हजार भारुसम्म पर्छ ।

अक्सफोर्ड भ्याक्सिन २ देखि ८ डिग्रीसम्म भण्डारण गर्न सकिन्छ । अमेरिका र रुसको भ्याक्सिनभन्दा सस्तो र सहज भएकाले पनि यो भ्याक्सिनमा नेपालले समेत चासो बढाएको छ । त्यसमाथि छिमेकी मुलुक भारतसँग कुटनीतिक पहल गरेर भ्याक्सिन सहज तरिकाले ल्याउन सकिन्छ । भारतले नेपालसँग खुल्ला सीमा भएकाले पनि भ्याक्सिन छिटो उपलब्ध गराउन सहयोग गर्ने अवस्था रहन्छ । कोभिड १९ को रोकथामका लागि भारत र नेपाल दुवै मिलेर काम गर्नुपर्ने अनिवार्य अवस्था पनि छ ।

यसैगरी, नेपाल सरकारले कोभिड १९ को भ्याक्सिन जतिसक्दो छिटो ल्याउन पहल थालिसकेको छ । यसका लागि अध्यादेश बनाइसकिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले हिजो सार्वजनिक रुपमै भ्याक्सिन आउनेवित्तिकै नेपालमा पनि ल्याइने बताएका छन् । यसका लािग तयारी भइसकेको बताए । सरकारले भ्याक्सिन छिटो ल्याउन सेरम कम्पनिसँग कुराकानी प्रक्रिया बढाएको छ । यसले भ्याक्सिन सन् २०२१ को मध्यसम्ममा नेपालीले पनि पाउने आशा बढेको छ ।

भ्याक्सिन खरिदका लागि कम्तिमा ७० अर्ब नेपाली रुपैयाँ लाग्ने स्वास्थ्य मन्त्रालको आँकलन छ । स्पुतनिक भी पूरा डजको २० डलर लाग्ने खुलेको छ । तर, फाइजर र मोर्डना कम्पनिको भ्याक्सिन दुई डजको ४० डलरभन्दा माथि पर्न सक्छ । यी भ्याक्सिन ल्याउन खर्च र समयका दृष्टिले पनि केही समस्या पर्न सक्छ । त्यसैले नेपालको ध्यान सेरमको अक्सफोर्ड भ्याक्सिनमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्