Logo

अर्थमन्त्री पौडेललाई गृहजिल्लामै कालोझण्डा, मन्त्री पदसँग राजधानी साटेको आरोप



बुटवल, १० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल आज गृहजिल्ला रुपन्ही पुगे । अर्थमन्त्री समेत रहेका पौडेललाई नेपाली काँग्रेसका कार्यकर्ताले कालो झण्डा देखाए ।

पौडेलले अर्थमन्त्री पदसँग लुम्बिनी प्रदेशको राजधानी साटेको कालो झण्डा देखाउनेहरुको आरोप थियो । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरी बनाइएपछि बुटवलवासी आक्रोशित छन् । उनीहरुले सत्तारुढ दलकै महासचिवले यसबारे अडान लिन नसकेको र उल्टै राजधानीसँग मन्त्री पद साटेको आरोप लगाउँदै आएका छन् ।

प्रदेशको राजधानी टुंगो लागेपछि पौडेल अर्थमन्त्री बनाइए । यसकारण पनि उनीमाथि आशंका गरिएको हो । तर, पौडेलले गृहजिल्ला पुगेर आफूले राजधानीसँग अर्थमन्त्री पद नसाटेको बताए । उनले जिल्लाको विकासका लागि कटिवद्ध भएर लागेको बताए ।

रुपन्देहीमा बलियो पकड बनाएका अर्थमन्त्री पौडेललाई राजधानी प्रकरणले क्षति पुर्याएको विश्लेषण भइरहेको छ । राजधानी दाङ बनाउने निर्णयलगत्तै सयौंको संख्यामा व्यापारीले नेकपा त्यागेको खबर समेत आएको थियो ।



प्रतिक्रिया दिनुहोस्