काठमाडौं, १२ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँगको छलफल र सहमतिमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद चुलिएको छ । मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालको राजनीतिक प्रतिवेदनलाई लिएर प्रश्न उठाएका थिए ।
उनले उक्त प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका थिए । तर, दाहालले लगाएको आरोपको आफूले खण्डन र जवाफ दिने भन्दै ओलीले मंसिर ३ गतेको बैठकमा दश दिनको समय माग गरेका थिए । सोहीअनुसार नेकपा सचिवालय बैठक भोलि अपरान्ह बस्दैछ । यो बीचमा अध्यक्षद्धय ओली र दाहालबीच भेटवार्ता त परै जाओस अहिले पानी बाराबारको अवस्था छ । नेता तथा कार्यकर्ताहरु पनि एक अर्कोमाथि जाईलागिरहेका छन् ।
भोलिको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच भेटवार्ता गराउनको लागि पहल भैरहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता नेम्वाङले भने,‘भोलिको सचिवालय बैठक अघि नै दुवै अध्यक्षलाई वार्ता गराउन पहल गरिराखेको छु । समस्याको समाधान वार्ता तथा छलफलबाट हुन्छ । हामी आशावादी छौं, यो विवाद समाधान हुन्छ । दुवै अध्यक्षाई मिलाएर लैजाने अन्तिम प्रयास भैरहेको छ ।’
तर, वरिष्ठ नेता झलनाथ खनालले भने आफूहरु अध्यक्ष तथा प्रधानमन्त्री ओलीको प्रस्तावको पखाईमा रहेको र सबै कुरा अब बैठकमै छलफल हुने स्पष्ट पारे । उनले भने,‘अब वारपारको लडाँई हुन्छ । अध्यक्ष कमरेड ओलीको प्रस्ताव हेरेपछि हामी हाम्रो रणनीति बनाउँछौं ।’