Logo

भु माफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता



रौतहट, मंसिर १५ । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका वाड नं. ९ साविक रंगपुर गाबिस ५ मा रहेको बन क्षेत्रको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा आएको हो ।

गत कात्र्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय र डिभिजन वन कार्यालय रौतहटको संयुक्त बैठकको निर्णयको आधारमा गत कात्तिक २७ मालपोत कार्यालय चन्द्रपुरले सो जमिन नेपाल सरकारको नाममा ल्याएको थियो । सो जमिन दोलखा,रामेछाप,ओखलढुंगा लगायत बिभिन्न जिल्लाका २६ जना व्यक्तिहरुको नाममा दर्ता भएको थियो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहको सकृयतामा भुमाफियाको नाममा रहेको जमिन श्रेस्ता बदर गरिएको थियो ।
बनक्षेत्रको जग्गाको श्रेस्ता बदर गरी एकसय २२ बिगाहा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएको डिभिजन वन कार्यालय रौहतट चन्द्रनिगाहपुरका प्रमुख बिनोद सिंहले जानकारी दिएका छन ।

गुजरा खोल्सीदेखि पूर्व आवादी गाउँदेखि पश्चिम, बागमती सिचाइको नहरदेखि दक्षिण, गुजरा खोल्सीदेखि उत्तरको वन क्षेत्रको सो जग्गा बर्षौ अघि भुमाफियाले आफनो नाममा दर्ता गरेका थिए ।

उक्त जमिन सर्लाही , ओखलढुंगा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोक, रौतहट लगाएत जिल्लाका २६ जनाले २०७२ सालमा आफ्नो नाममा दर्ता गराएका थिए ।

बनक्षेत्रको जग्गा ब्यक्तीले आफ्नो नाममा दर्ता गराउन सफल भएपछि प्रकृया पुर्याएर दर्ता खारेज गरी नेपाल सरकारको नाममा ल्याएको डिभिजन वन प्रमुख सिहले बताए । कित्ता नम्वर १ देखी २६ सम्म व्यक्तिले दर्ता गरेको सो जग्गा डिभिजन बन कार्यालय रौतहटको फैसलाले २०७६ पुस ७ गते नै बदर गरेको थियो ।रौतहटमा २९ हजार चारसय हेक्टर बनक्षेत्र रहेकोमा बिभिन्न कालखण्डमा हालसम्म ३१ सय ९० हेक्टर बनक्षेत्र अतिक्रमण भईसकेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot