Logo

चीनको प्रभाव बढेकै हो ?



काठमाडौं, १५ मंसिर । कुनैबेला उत्तरको हिमाललाई चीनसँगको पर्खाल भनिन्थ्यो । नेपालको चीनसँग खासै व्यापारिक सम्बन्ध पनि थिएन । जनताबीचको सम्बन्ध त निकै कम थियो । छिमेक भइन पनि चीनसँग जटिल भूगोलले दुरी बढाइदिएको थियो । बरु नेपालीहरुको तेस्रो मुलुकहरु बेलायतलगायत युरोपेली देशहरुसँग नजिकको सम्बन्ध थियो ।

चीनले विकासको गति लिएसँगै तिब्बतमा आर्थिक गतिविधिहरु बढ्दै गयो । त्यो भन्दा पनि उसको छिमेकमा प्रभाव बढाउने र लगानी बढाउने तत्परता बढ्यो । क्षेत्री हुँदै विश्व शक्ति बन्ने चीनको महत्वाकांक्षाले नेपालमा पनि चासो बढायो । गणतन्त्र स्थापनापछि चीनले कम्युनिस्ट शक्तिसँग निटता बढायो । माओवादी शक्तिमा आएपछि चीनबाट सैन्य तहमा आवतजावत बढ्न थाल्यो । चीनले पनि राजनीतिक, सैन्यलगायत विभिन्न तहमा नेपालीहरुलाई भ्रमणमा डाक्न थाल्यो ।

सत्तारुढ नेकपासँग चिनियाँ कम्युनिस्ट पार्टीको विशेष सम्बन्ध स्थापित भइसकेको छ । दुवै पार्टीको संयुक्त प्रशिक्षण समेत हुनथालिसकेको छ । नेकपा नेताहरु चीन भ्रमणमा नपुगेको सायदै कोही होला । चिनियाँ विदेश मामलासम्बन्धी धारणा आउने गरेको पत्रिका ग्लोबल टाइम्सले नेपाली काँग्रेसलाई भारतपरस्तको आरोप लगाइरहँदा नेकपालाई भने मित्रशक्ति भनेको छ । उसले नेकपाभित्रको माइक्रोम्यानेजमेन्टमा पनि भुमिका खेल्यो । कतिपयले नेकपा एकीकरणमा चीनको भुमिका समेत भने । यसलाई थप बल दिने गरी नेकपा विवादमा चीनको भुमिका खुल्यो । चिनियाँ राजदूत होउ यान्छीले नेकपाभित्र संकटमा आउँदा मुख्य नेताहरुलाई घर घरमै पुगेर भेटिन् । उनको भेटले नेकपाको संकट दुईपटक टरिसकेको छ । पछिल्लो पटक पनि यान्छीको सक्रियता देखिनथालेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले गत वर्ष नेपाल भ्रमण गरे । त्यसअघि चिनियाँ विदेशमन्त्री नेपाल आए । चिनियाँ राष्ट्रपति दुई दशकपछि नेपाल भ्रमणमा आएर चासो बढेको सन्देश दिए । सीले बेला बेलामा समकक्षी विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी पनि गर्दै आएका छन् ।

चीनले नेपालमा राजनीतिक, आर्थिक र शैक्षिक क्षेत्रमा समेत चासो बढाएको छ । नेकपासँगको विशेष सम्बन्ध, सैन्य र कुटनीतिक तहमा बढ्दो चासो र सहयोग, शैक्षिक क्षेत्रमा चीनले बढाएको छात्रवृत्ति र विद्यालयहरुमा चिनियाँ भाषाको शिक्षालाई लिन सकिन्छ । कतिपयले भारतको विगतमा रहेको भुमिकाको ठाउँमा चीनले स्थान लिइसक्यो पनि भन्नथालेका छन् । हुनपनि सरकारले भारतसँगको सीमा विवादमा विरोध गरेपनि चीनसँगको विवादमा कुनै समस्या नभएको भनेर बोल्यो ।
बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआइ अन्र्तगत चीनले आर्थिक गतिविधि बढाएको छ । यसले उसको प्रभाव थप बढेको विश्लेषण हुनथालेको छ । चीनले अमेरिकी सहयोगसम्बन्धी एमसीसी रोक्न खोजेको आरोप पनि लागेको छ । यसलाई नेपालमा चीन र अमेरिकाको टकराव बढेको रुपमा पनि हेरिएको छ ।

चीनले सैन्य तहबाट पनि भुमिका बढाउने गरेको छ । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमण यसैको एउटा पाटो हो । यसअघि चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउने भनिएपनि रक्षामन्त्री आए । उनले शुरुमै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटेर क्षेत्रीय अवस्थाबारे कुराकानी गरेको चिनियाँ रक्षामन्त्रालयले उल्लेख नै गरेको छ । यसलाई अर्थपूर्ण मानिएको छ । चीनले अमेरिका र भारतको आफूविरुद्धको एकताको सामना गर्न विशेष रणनीति बनाइरहेको छ । यसै सिलसिलामा छिमेकमा पनि भुमिका बढाइरहेको छ । उसले नेपालमा प्रभाव निकै बढाउँदै लगेको छ । यो विषय भारतलगायत पश्चिमा देशका मिडियाले पनि उल्लेख गरिरहेका छन् । विगत र वर्तमानलाई केलाउँदा चीनको भुमिका निकै बढेको छ । यसले नेपाल मामलामा चिनियाँ क्षेत्रीय शक्तिबीच टकराव बढ्ने सम्भावना देखिदैछ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्